वीरगञ्ज, ३० पुष । मुलुकको प्रदेश संरचना खारेज गर्दै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै व्यापक रूपमा मोबाइल सन्देश पठाउने एक व्यक्ति प्रहरीको नियन्त्रणमा परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चितवन घर भएका ३४ वर्षीय निर्देश सेढाईंलाई मंगलबार राति काठमाडौँको हात्तीसार क्षेत्रबाट पक्राउ गरिएको हो। उनले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ प्रणालीमार्फत करिब ५० लाख मोबाइल नम्बरमा एसएमएस पठाएको खुलेको छ।
प्रहरीका अनुसार सेढाईंले आफूले ठूलो संख्यामा सन्देश पठाएको स्वीकार गरेका छन्। पठाइएका सन्देशमा प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचनासहितको सनातन संवैधानिक राजसंस्था स्थापना गर्न जनतालाई आह्वान गरिएको उल्लेख छ।
सेढाईंले पुस ३० गते दिउँसो १२ बजे बालुवाटार क्षेत्रमा उपस्थित हुन आग्रह गर्दै सन्देश पठाएको प्रहरीको भनाइ छ। निषेधित क्षेत्र तोकिएको स्थानमा अनिश्चितकालसम्म उपस्थित हुन आह्वान गर्दा सार्वजनिक शान्ति र सुरक्षामा असर पर्न सक्ने भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले सेढाईंविरुद्ध सार्वजनिक हितविरुद्धको कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।



