वीरगञ्ज, ३० पुष । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहको कारबाहीमा परेका छन्।
बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै सहमहामन्त्री मन्सुरलाई पनि साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।
मन्सुर यसअघि सभापति देउवा समूहमा रहे पनि पछिल्लो समय विशेष महाधिवेशनको माग उठेसँगै उनी महामन्त्रीहरू निकट समूहमा खुलेर लागेका थिए। यही राजनीतिक धार परिवर्तनपछि उनीमाथि कारबाही गरिएको भन्दै पार्टीभित्रै व्यापक चर्चा सुरु भएको छ।
निर्णयपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ भने पार्टी औपचारिक विभाजनतर्फ जान सक्ने आशंका समेत बढ्दै गएको छ।



