वीरगञ्ज, ३० पुस – मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी कृष्ण पहाडीले शान्ति प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताएका छन्। उनले राजनीतिक अस्थिरताले देशलाई अर्को ठूलो संकटतर्फ धकेल्न सक्ने भन्दै घोषित समयमै निर्वाचन गरिनु आवश्यक रहेकोमा जोड दिए।
पहाडीले जेन–जी आन्दोलनको बलमा गठन भएको सरकारले करिब ७५ प्रतिशत असफलता भोगिसकेको दाबी गर्दै, यदि समयमै निर्वाचन गराइयो भने बाँकी २५ प्रतिशतमा भए पनि सफलता हासिल गर्न सकिनेमा आफूहरू आशावादी रहेको बताए।
उनले विभिन्न बहानामा वीरगञ्जलाई सधैं अशान्त बनाउने प्रयास भइरहेको उल्लेख गर्दै, सबै राजनीतिक शक्तिहरू एकमत भएर निर्णय गरे शान्ति र स्थायित्व सम्भव हुने धारणा राखे। छिमेकी राष्ट्रहरूप्रति अविश्वास सिर्जना गर्नु नेपालको हितमा नहुने बताउँदै, उनीहरूलाई पनि विश्वासमा लिनु आवश्यक रहेको पहाडीको भनाइ थियो।
जेन–जी आन्दोलनका क्रममा राज्यको तर्फबाट संवेदनहीनता देखिएको उल्लेख गर्दै पहाडीले आन्दोलनको स्वामित्व नेपाली जनताले लिनुपर्ने र निर्वाचनमार्फत फरक प्रकारको जनादेश दिनुपर्ने आवश्यकता औंल्याए।
मानव अधिकार तथा शान्ति समाज पर्साले आयोजना गरेको “शत्रुताविहीन आचरण, मित्रवत् प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता” विषयक नागरिक संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
वीरगञ्जस्थित क्लासिक बैंक्वेटमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति रामनारायण कुर्मी, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, ठाकुर राम बहुमुखी क्याम्पसका राजनीतिक शास्त्रका प्राध्यापक हरेराम ठाकुर, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमलगायतले मन्तव्य राखेका थिए। मानव अधिकार तथा शान्ति समाज पर्साका अध्यक्ष सुनिन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण समाजका प्रेम पटेलले गरेका थिए।



