पर्सा,०५ माघ । आम जनता पार्टी (आजपा) ले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि रञ्जु साहलाई उम्मेदवार बनाएको छ। आजपाले साहलाई औपचारिक रूपमा टिकट दिएसँगै पर्सा–२ को राजनीतिक माहोल थप तातेको छ।
उम्मेदवारी घोषणा गर्दै नेतृ साहले पर्सा–२ लाई विकासको नमुना क्षेत्र बनाउने लक्ष्यसहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताइन्। उनले जेनजी पुस्ताको सपना पूरा गर्ने र जेनजी आन्दोलनलाई ठोस परिणाममा पुर्याउने आफ्नो प्रतिबद्धता रहेको उल्लेख गरिन्।
देशमा रोजगारीको अभावका कारण युवाहरू विदेशिन बाध्य भएको र जोखिमपूर्ण परिस्थितिमा ज्यानसमेत गुमाउनुपर्ने अवस्था सिर्जना भएको भन्दै साहले स्वदेशमै रोजगारी सिर्जना गर्नु आजपाको प्रमुख प्राथमिकता रहेको बताइन्। साथै, बैंकिङ क्षेत्रमा भइरहेको ठगी र वित्तीय शोषणप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन पार्टी दृढ रहेको उनको भनाइ छ।
करको नाममा भइरहेको दबाब, भन्सारमा हुने अनियमितता र भ्रष्टाचारले अर्थतन्त्र कमजोर बन्दै गएको भन्दै त्यसविरुद्ध संघर्ष गर्ने साहले प्रतिबद्धता जनाइन्। गरिबका छोराछोरी विदेशमा दुःख भोग्नुपर्ने र नेताका सन्तान विलासितामा रमाइरहेको वर्तमान अवस्थालाई अन्त्य गर्न आजपा अघि बढेको उनले दाबी गरिन्।



