बीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले मुलुकको भाग्य परिवर्तनका लागि अब मधेशकै नेतृत्व आवश्यक रहेको बताएकी छन्। जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्दै उनले रास्वपाले मधेशको छोरालाई प्रधानमन्त्री बनाउने लक्ष्यसहित अघि बढिरहेको दाबी गरिन्।
उनले आगामी निर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा हेर्न देश तयार भइसकेको बताइन्। “देश परिवर्तनको चाहना अब स्पष्ट छ। मधेशको अगुवाइमै राष्ट्रको भविष्य सुनिश्चित हुन्छ,” उनले भनिन्।
पार्टी अध्यक्ष रवि लामिछाने र बालेन शाह एकै ठाउँ उभिनु सकारात्मक सन्देश भएको उल्लेख गर्दै गौतमले यसले आम नागरिकमा नयाँ आशा जगाएको बताइन्। “आज यी दुईको एउटै मञ्चमा उपस्थितिले देश हाँसेको छ, आशा पाएको छ र भविष्य देखेको छ,” उनले भनिन्।
उनका अनुसार पुराना राजनीतिक अभ्यासबाट आजित जनताले वैकल्पिक नेतृत्व खोजिरहेको बेला रास्वपाले नयाँ राजनीतिक संस्कृतिको सुरुवात गरेको छ।



