काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज बुधबार दाबी–विरोध (उजुरी) दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ दर्ता भएका मनोनयन पत्रमाथि आज उजुरी दिने समय तोकिएको हो। दर्ता भएका उजुरीहरूको जाँचबुझ गरी माघ ८ गते बेलुका ५ बजेसम्म अन्तिम निर्णय गरिनेछ र सोही दिन उम्मेदवारहरूको नामावली प्रकाशन गरिने आयोगले जानकारी दिएको छ।
त्यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ।
उम्मेदवारी फिर्तापछि सोही दिन दिउँसो उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।
निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सम्पन्न मनोनयन दर्तामा कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ हजार ८८ जना पुरुष, ३८५ जना महिला र १ जना अन्य लिङ्गी उम्मेदवार रहेका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसपटकको निर्वाचनमा नयाँ पुस्ताको सहभागिता उत्साहजनक देखिएको छ। उमेर समूहका आधारमा हेर्दा २५ देखि ३५ वर्षका ५८३ जना युवाहरू चुनावी मैदानमा उत्रिएका छन्।
त्यस्तै, सबैभन्दा बढी ३६ देखि ५० वर्ष उमेर समूहका १ हजार ६१० जना उम्मेदवार रहेका छन्। ५१ देखि ६५ वर्ष उमेर समूहका १ हजार ९० जना र ६५ वर्षभन्दा माथिका २०१ जना उम्मेदवारले पनि प्रतिस्पर्धा गरिरहेका छन्।
शान्तिपूर्ण र व्यवस्थित रूपमा मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएसँगै अब निर्वाचन आयोग र राजनीतिक दलहरूको ध्यान उजुरी उपरको निर्णय र चुनावी प्रचारप्रसारतर्फ केन्द्रित भएको छ।



