काठमाडौं,०७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले यसपटक पनि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।
आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा स्थापना गरिएको कल सेन्टरमार्फत निर्वाचनसम्बन्धी मतदाता, नागरिक तथा सरोकारवालाहरूका जिज्ञासा, गुनासा र सूचनाहरू सुनुवाइ गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
छ वटा डेस्कसहित सञ्चालनमा रहेको उक्त कल सेन्टर बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ। मतदाता तथा सरोकारवालाहरूले निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरी निर्वाचनसम्बन्धी जानकारी लिन सक्ने आयोगले जनाएको छ।
एकै समयमा १५ जनासम्मको फोन कल सहज रूपमा व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको जनाउँदै आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन प्रक्रियालाई थप पारदर्शी बनाउने उद्देश्यले कल सेन्टर सञ्चालनमा ल्याइएको स्पष्ट पारेको छ।



