झापा,०७ माघ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक र निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
गृह जिल्ला झापामा ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै ओलीले यस प्रकारका गतिविधिलाई पूर्ण रूपमा आपराधिक ठहर गरे। उनले भने, “अपराधलाई कुनै पनि बहानामा प्रोत्साहन गर्न सकिँदैन। अपराध रोकेर मात्रै देशलाई शान्तिपूर्ण र बस्न योग्य बनाउन सकिन्छ।”
ओलीले अरूको घर जलाउने व्यक्तिलाई उन्मुक्ति दिन नहुनेमा जोड दिँदै वर्तमान सरकारले अपराधीहरूलाई जोगाउने प्रयास गरेको आरोपसमेत लगाए। उनका अनुसार अन्तरिम सरकारले जलाउनेहरूकै पक्षमा रहँदा अपराधीमाथि कारबाही गर्न हिचकिचाइरहेको छ।
अध्यक्ष ओली आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन सोमबार झापा पुगेका थिए। बुधबार बिहानैदेखि उनी आन्दोलनबाट प्रभावित क्षेत्रको निरीक्षणमा रहेका थिए।



