जनकपुर,०७ माघ । मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर चार जना नेताले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार उम्मेदवारी दिनेमा रामचन्द्र मण्डल, सतिश कुमार सिंह, भरत साह र रहबर अन्सारी रहेका छन्।
रामचन्द्र मण्डल नेकपा (एमाले)बाट धनुषा क्षेत्र नम्बर–१, पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह स्वाभिमान पार्टीबाट सप्तरी क्षेत्र नम्बर–२, भरत साह महोत्तरी क्षेत्र नम्बर–४ बाट नेकपाबाट र रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बारा क्षेत्र नम्बर–४ मा उम्मेदवार बनेका हुन्।
प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर संघीय संसदमा उम्मेदवारी दिएका मण्डल यसअघि धनुषा–१ (ख), सिंह सप्तरी–२ (क), साह महोत्तरी–१ (क) र अन्सारी पर्सा–१ (क) बाट निर्वाचित भएका थिए। यसैबीच, एकल सिफारिसमा परेका एमालेका सांसद सरोज यादव र प्रमोद जयसवाल तथा कांग्रेसका विरेन्द्र सिंह अन्तिम समयमा आएर उम्मेदवारीबाट पछि हटेका छन्। उनीहरूको स्थानमा क्रमशः निलम अधिकारी, कृष्णकुमार श्रेष्ठ (किसान) र कांग्रेस सभापति गगन थापा उम्मेदवार बनेका छन्।
रामचन्द्र मण्डल केही समयअघि आफ्नै आचरणप्रति आपत्ति जनाउँदै मधेस प्रदेशसभाका बहुमत सांसदबाट पदमुक्त भएका थिए। शिक्षक पेसाबाट राजनीतिमा आएका मण्डल माओवादी हुँदै एमाले प्रवेश गरेपछि केपी शर्मा ओली निकट नेताका रूपमा परिचित छन्। सभामुख रहँदा तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत लिनुअघि नै राजीनामा दिन बाध्य बनाएको आरोप उनीमाथि लागेको थियो। सो विवादपछि पद गुमाएका मण्डल अहिले प्रतिनिधिसभा निर्वाचनमा पुनः सक्रिय देखिएका छन्।
पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह पदमा रहँदा आफ्नै दल जनमत पार्टीभित्र चर्को विवादमा परेका थिए। कार्यशैलीका कारण आलोचना खेपेका सिंहले विश्वासको मत नपाएपछि संसदबाटै राजीनामा दिएका थिए। पछि पार्टी परित्याग गर्दै नयाँ दलबाट उम्मेदवारी दर्ता गराएका उनी एमालेको सूर्य चिन्ह प्रयोग गरेर निर्वाचनमा उत्रिएका छन्।
पूर्व गृह तथा सञ्चार मन्त्री भरत साह नेकपा मधेस प्रदेश संसदीय दलका नेता समेत थिए। कार्यकालमा मनपरी गरेको आरोप र पार्टी ह्विप उल्लंघनका कारण उनी विवादमा तानिएपछि मन्त्री पदबाट हट्न बाध्य भएका थिए।
पूर्व राज्यमन्त्री रहबर अन्सारी भने कार्यकालमा ठूला विवादमा नपरे पनि प्रदेशसभा सांसदहरूको आचरणप्रति असन्तुष्टि जनाउँदै संसदमा मुखमा कालो पोतेर विरोध जनाएका थिए। तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकार ढाल्न उनको भूमिका रहेको मानिन्छ। पार्टी परिवर्तन गरेका अन्सारी रास्वपाबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् र उनी आफ्नो क्षेत्रमा लोकप्रिय युवा नेताका रूपमा चिनिन्छन्।



