बीरगन्ज,०८ माघ । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्ने तीनै जना १९ वर्षका युवक रहेका छन् ।
पक्राउ परेकामा वीरगन्ज महानगरपालिका–१३ श्रीपुरका साहिलकुमार रौनियार र श्यामबाबु ठाकुर तथा भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्ला सुगौली घर भई हाल वीरगन्ज–१३ बस्दै आएका रोशनकुमार गुप्ता रहेका छन् । उनीहरूको साथबाट चोरीका तीन वटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार माघ ५ गते साँझ करिब साढे ८ बजे वीरगन्ज–१३ राधेमाईस्थित सडकमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको गस्ती टोलीले साहिलकुमार रौनियारलाई शंकास्पद अवस्थामा मोटरसाइकल डोर्याइरहेको देखेपछि नियन्त्रणमा लिएको थियो । जाँचका क्रममा उक्त मोटरसाइकलमा पछाडिको नम्बर प्लेट र साँचो नहुने, तार काटिएको तथा अगाडि भारतीय नम्बर प्लेट (बिआर ०५ एक्यु ६९२४) जडान गरिएको अवस्थामा फेला परेको थियो ।
सोधपुछका क्रममा रौनियारले उक्त मोटरसाइकल आफूले अन्य दुई साथीसँग मिलेर वीरगन्ज–१३ स्थित दृष्टि आँखा अस्पताल क्षेत्रबाट रातिको समयमा चोरी गरेको र ठाकुरको कोठामा लुकाएर राखिएको स्वीकार गरेका थिए । त्यसपछि प्रहरीले थप अनुसन्धान गर्दै उनीहरूबाट अन्य दुई वटा मोटरसाइकल समेत बरामद गरेको हो ।
पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।



