राजविराज,०८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पितृशोकमा रहेका प्रतिस्पर्धी उम्मेदवार अमरकान्त चौधरीको निवासमा पुगेर समवेदना व्यक्त गरेका छन् ।
बुधबार स्वर्गीय पूर्वसांसद चन्द्रकान्त चौधरीको १२औँ दिनको पुण्यतिथिमा यादव सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५, पातोस्थित चौधरी निवास पुगेका हुन् । सो अवसरमा उनले चन्द्रकान्त चौधरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
राष्ट्रिय मुक्ति पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वराज्यमन्त्रीसमेत रहेका चन्द्रकान्त चौधरीको पुस २६ गते निधन भएको थियो । उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट सप्तरी–३ बाट निर्वाचित भई जलस्रोत, ऊर्जा तथा सिँचाइ राज्यमन्त्री बनेका थिए ।
स्वर्गीय चन्द्रकान्त चौधरीका छोरा अमरकान्त चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । प्रतिस्पर्धाका बाबजुद व्यक्त गरिएको यस समवेदनालाई राजनीतिक शिष्टाचार र मानवीय सहानुभूतिका रूपमा हेरिएको छ ।



