वीरगन्ज,०८ माघ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा वीरगन्जका औषधि व्यवसायी सुरज चन्द्रवंशीलाई जिल्ला अदालत पर्साले १ महिना कैदको सजाय सुनाएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले बुधबार चन्द्रवंशीलाई १ महिना कैदका साथै बिगोको ५ प्रतिशत जरिवाना र साँवा तथा ब्याजसमेत असुल गर्ने फैसला गरेको हो।
चन्द्रवंशी वीरगन्ज–विर्तास्थित ओम साई क्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर र ओम साई औषधि पसलका सञ्चालक हुन्। उनलाई बैंकिङ कसुरसम्बन्धी अभियोग पुष्टि भएपछि अदालतले दोषी ठहर गरेको हो। पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द्रवंशी पर्सा–पकाहा मैनपुर गाउँपालिका वडा नम्बर–१का स्थायी बासिन्दा हुन् र हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–२मा बसोबास गर्दै आएका थिए। उनी गत जेठ २८ गते पक्राउ परेका थिए।
पक्राउको तत्काल पछि पर्सा जिल्ला अदालतले उनलाई २ लाख रुपैयाँ धरौटीमा जमानतमा छाडेको थियो। मुद्दाको अन्तिम सुनुवाइपछि अदालतले दोषी ठहर गर्दै कैद, जरिवाना तथा बिगो असुल गर्ने आदेश दिएको हो।



