रौतहट,०८ माघ । सशस्त्र प्रहरी बल, नेपालको स्थापना २५औं वर्ष (रजत महोत्सव) र सशस्त्र प्रहरी दिवस–२०८२ को अवसरमा रौतहटमा रक्तदान कार्यक्रमसहित विविध सामाजिक तथा जनसेवामूलक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्।
नम्बर ११ गण रौतहटको आयोजनामा गणको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा प्रादेशिक अस्पताल गौरसँगको समन्वयमा १४ जना सशस्त्र प्रहरी कर्मचारीहरूले रक्तदान गरेका थिए।
स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बलले केवल औपचारिक समारोहमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र मानवतामूलक सेवामार्फत मनाएको छ। यस क्रममा स्थानीय समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, बिरामीलाई फलफूल वितरण, अशक्त, गरिब र ज्येष्ठ नागरिकलाई कपडा तथा खाद्यान्न वितरण, मठमन्दिर तथा सार्वजनिक स्थल सरसफाइ, विद्यालयस्तरमा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता, साथै समकक्षी सुरक्षा निकायसँग मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिएको छ।
नम्बर ११ गण रौतहटका अनुसार स्थापना दिवसले जनसेवा र समुदायसँगको सम्बन्ध अझ सुदृढ गर्ने अवसर प्रदान गरेको छ। सशस्त्र प्रहरी बल, नेपालले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



