काठमाडौँ,०८ माघ । छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपाल सरकारले सम्भावित जोखिम न्यूनीकरणका लागि सीमा नाका र हवाई मार्गहरूमा निगरानी बढाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरस देखिएपछि नेपाल प्रवेश गर्ने यात्रुहरूको हवाई तथा थल नाकामार्फत स्वास्थ्य जाँच सुरु गरिएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिएका यात्रुको निगरानी भइरहेको जानकारी दिए।
उनका अनुसार निपाह भाइरसको जोखिमलाई ध्यानमा राख्दै शंकास्पद व्यक्तिको उपचारका लागि देशभरका अस्पतालहरू समेत तयारी अवस्थामा राखिएको छ। निपाह भाइरस चमेरो, सुंगुर तथा संक्रमित व्यक्तिबाट सर्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिलाई केही समय क्वारेन्टाइनमा राख्न र अनावश्यक सम्पर्क नगर्न नागरिकलाई सचेत गराइएको उनले बताए।
यसअघि महामारी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पताललाई निपाह भाइरसका लक्षण देखिएका बिरामी तथा त्यस्ता लक्षणका कारण मृत्यु भएका घटनाबारे तत्काल जानकारी गराउन निर्देशन दिएको थियो।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार निपाह भाइरसको संक्रमणपछि ३ देखि १४ दिनभित्र लक्षण देखिन सक्छन्। ज्वरो, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या देखिनुका साथै केही बिरामीमा मस्तिष्क सुन्निने समस्या पनि देखिन सक्छ। गम्भीर अवस्थामा बिरामी अचेत हुने, सिजर आउने र २४ देखि ४८ घण्टाभित्र कोमामा पुग्ने अवस्था आउन सक्ने चिकित्सकहरूले बताएका छन्।
डब्ल्युएचओका अनुसार यस रोगबाट मृत्यु हुने जोखिम ४० देखि ७० प्रतिशतसम्म रहन सक्छ। कोरोना भाइरसजस्तै निपाह भाइरस पनि जनावरबाट मानिसमा सर्न सक्ने जोनोटिक भाइरस भए पनि यसको जोखिम र ज्यान जाने सम्भावना अझ बढी रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ। संक्रमित जनावरको मासु सेवन गर्दा वा चमेरोसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कबाट यो रोग फैलिन सक्ने जोखिम रहन्छ।
सन् १९९९ मा मलेसिया र सिंगापुरमा पहिलोपटक निपाह भाइरस पहिचान भएको थियो। भारतमा सन् २००१ र २००७ मा पश्चिम बंगाल तथा सन् २०१८ मा केरलामा फैलिएको महामारीमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको थियो। यही अनुभवका आधारमा नेपाल सरकारले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ।



