वीरगञ्ज, ८ माघ – वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोह गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष डा. उपेन्द्र महतोले गरेका छन् । वीरगञ्जस्थित टीबी शाह क्रिकेट मैदानमा सुरु भएको उक्त प्रतियोगितामा प्याब्सन पर्सामा आबद्ध ४० विद्यालयहरूको सहभागिता रहेको छ। प्रतियोगिता माघ २४ गतेसम्म सञ्चालन हुने प्याब्सन पर्साले जनाएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. महतोले नेपालको बौद्धिक पलायन रोक्न स्वदेशमै निजी क्षेत्रको लगानी आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले निजी क्षेत्रलाई उच्च मनोबलका साथ लगानी गर्न आग्रह गर्दै भन्नुभयो,
“जब नेपालीहरूले आफ्नै देशमा रोजगारी पाउँछन्, शिक्षित र सक्षम बन्छन्, तब मात्र नेपालको शान विश्वमा उचो हुन्छ।”
डा. महतोले विद्यार्थीहरूलाई अध्ययनलाई प्राथमिकता दिँदै खेलकुद तथा अतिरिक्त क्रियाकलापबाट आत्मबल र आत्मसम्मान वृद्धि हुने भएकाले त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो। उद्घाटन समारोहका क्रममा विद्यार्थीहरूले ‘स्टप ब्रेन ड्रेन’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेकोप्रति उहाँले प्रशंसा गर्नुभयो।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवास श्रेष्ठ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव रोशन सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, परिषद्का विज्ञ सल्लाहकार डा. हरिशंकर साह, मणी पाख्रिन, लालबहादुर पटेल, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोकलगायतको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सग्रौलाले गर्नुभएको थियो। प्याब्सन पर्साले माघ १० गतेदेखि प्याब्सन जुनियर फुटबल प्रतियोगिता पनि आयोजना गर्ने जनाएको छ।
खेलको उद्घाटनअघि आयोजित मार्चपासमा ३० विद्यालयले सहभागिता जनाउँदै उत्कृष्ट अनुशासन प्रदर्शन गरेका थिए।



