काठमाडाैं,११ माघ । फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार बनेका केही व्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ।
आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार नेकपा (एमाले) का मधेस प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार चन्देश्वर मण्डलसहित तीन जनाविरुद्ध उजुरी परेको हो।
उजुरीकर्ताले सिरहाका मण्डल आदिवासी समुदायका भएकाले मधेसी क्लस्टरअन्तर्गत उम्मेदवार बन्न नमिल्ने दाबी गरेका छन्। यही कारण देखाउँदै उनको उम्मेदवारीप्रति आपत्ति जनाइएको आयोगले जनाएको छ।
त्यसैगरी, अपाङ्गता कोटाबाट नेपाली कम्युनिष्ट पार्टीको समानुपातिक सूचीमा रहेका ललितपुरका जीवन लामाविरुद्ध पनि उजुरी परेको छ। उजुरीमा लामासँग अपाङ्गता नभएको दाबी गरिएको छ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का समानुपातिक उम्मेदवार कुमारबहादुर थापाविरुद्ध पनि उजुरी दर्ता भएको छ। उजुरीकर्ताका अनुसार धनकुटाको उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ।
निर्वाचन आयोगले उजुरी दर्ता भएका सबै उम्मेदवारलाई माघ १३ गते दिउँसो ४ बजेसम्म आयोगको कार्यालयमा उपस्थित भई आवश्यक प्रमाण र सबुत पेश गर्न पत्राचार गरेको छ। तोकिएको समयमा उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी पनि आयोगले दिएको छ।




