वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली काँग्रेसका उम्मेदवार अजय कुमार चौरसियाले काठमाडौँका पूर्व मेयर बालेन शाहप्रति आक्रामक टिप्पणी गरेका छन् । शनिवार वीरगञ्जस्थित नगर सभा गृहमा आयोजित काँग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै चौरसियाले बालेन शाहलाई “गँजेडी, स्माइकर र लुसिफर” भन्दै कडा शब्दमा आलोचना गरेका हुन् ।
चौरसियाले बालेन शाहलाई स्माइकरहरूले मन पराउने गीत गाउने र्यापर मात्र भएको टिप्पणी गर्दै नशाको हालतमा देश बनाउँछु भन्दै हिँड्नु हास्यास्पद भएको बताए । “सधैं गाँजा खाएर नशामा रहने व्यक्ति राष्ट्र निर्माणको कुरा गर्नु जनतालाई भ्रममा राख्ने प्रयास हो,” उनले भने ।
बालेन शाह कहिल्यै पनि मधेसी नभएको दाबी गर्दै चौरसियाले चुनाव जित्ने उद्देश्यले आफूलाई ‘मधेसको छोरो’ भनेर प्रस्तुत गरिरहेको आरोप लगाए । काठमाडौँको मेयर रहँदा सडकमा साना व्यापार गर्ने हजारौँ मधेसीलाई लखेट्ने, दमन गर्ने तथा मधेसी समुदायको प्रमुख पर्व छठ रानीपोखरीमा मनाउन नदिएको गम्भीर आरोपसमेत उनले लगाए ।
कार्यक्रममा बोल्दै चौरसियाले नेपाली काँग्रेसले आगामी निर्वाचनमा देशभर १६५ उम्मेदवारमध्ये १२० जना नयाँ अनुहारलाई अवसर दिएको उल्लेख गर्दै पार्टीभित्र नयाँ नेतृत्वसँगै नयाँ ऊर्जा थपिएको दाबी गरे । काँग्रेसलाई प्रोपगण्डामार्फत कमजोर बनाउने प्रयास सफल नहुने स्पष्ट पार्दै उनले भने, “राणा शासन, पञ्चायत, राजा र माओवादीले समेत काँग्रेसलाई समाप्त गर्न सकेनन्, अरूको त कुरा नै के हुन्छ?”
उनले विदेशी शक्तिले नेपाललाई अस्थिर बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै संविधान जोगाउन काँग्रेसको जित अपरिहार्य रहेको बताए । काँग्रेस नजिते देशमा शान्ति र स्थायित्व संकटमा पर्ने चेतावनीसमेत उनले दिए ।
स्वतन्त्र उम्मेदवार राजेश्वर प्रसाद साह तेलीको उम्मेदवारी फिर्तासम्बन्धी फैलाइएका हल्लाप्रति प्रतिक्रिया दिँदै चौरसियाले ती आरोप पूर्णतः निराधार भएको बताए । “दुई करोड त के, मैले ५० लाख रुपैयाँ पनि एकैपटक देखेको छैन,” भन्दै उनले आर्थिक लेनदेनको आरोपलाई खण्डन गरे ।
चौरसियाले आफू स्वयं राजेश्वर साह तेलीको घरमा पुगेर आग्रह गरेपछि उनले कुनै पनि शर्त बिना उम्मेदवारी फिर्ता लिएर काँग्रेसलाई जिताउन प्रतिबद्धता जनाएको दाबी गरे ।
क्षेत्रीय सभापति मोहम्मद साहबुद्धिनको अध्यक्षतामा सम्पन्न भेलामा काँग्रेसका केन्द्रीय तथा जिल्ला तहका नेताहरूले पनि धारणा राखेका थिए ।



