जनकपुर,११ माघ । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेश केन्द्रित चुनावी सभा स्थगित गरेको छ।
मधेश प्रदेश कांग्रेस प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन तथा चुनावी आचारसंहिताको पूर्ण पालना गर्ने उद्देश्यले सभा स्थगित गर्ने निर्णय गरिएको हो। उनका अनुसार कार्यक्रमको नयाँ मिति र संशोधित कार्यतालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिनेछ।
गुप्ताले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यता र विद्यमान कानुनी व्यवस्थाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्वाचन आयोगको निर्णयप्रति पार्टीले सम्मान जनाएको बताए।
जनकपुरधामको सभा स्थगित भएसँगै मधेश प्रदेशको चुनावी गतिविधि र राजनीतिक माहोलमा समेत केही प्रभाव पर्ने देखिएको छ।




