बीरगन्ज,११ माघ । बाराको प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा पुल नजिक आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आज बिहान करिब ७ बजे बीरगन्जबाट कलैयातर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आइरहेको मा.प्र.०३–०२७प ७८२९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक कलैया उपमहानगरपालिका–३ निवासी जय गुप्ताका २० वर्षीय छोरा आयुष गुप्ता गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
स्कुटरको पछाडि सवार बीरगन्ज महानगरपालिका–१० घडीहर्वा निवासी बिनोद साह कानुका ३० वर्षीय छोरा मौसम कुमार साह पनि घाइते भएका छन्। उनको दाहिने हात र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। दुबै घाइतेलाई उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर (बारा) लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ८ बजे आयुष गुप्ताको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक निरीक्षक सालिम राउत गद्दीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। दुर्घटनापछि फरार रहेको म.प्र.०३–००२ ख ४१०२ नम्बरको ट्रकलाई प्रहरीले कलैयाको हनुमान चोकबाट नियन्त्रणमा लिएको छ।
ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ निवासी २४ वर्षीय दिपेश चौधरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



