spot_img

खानेतेलमा एकाएक ५० रुपैयाँसम्म मूल्यवृद्धि, अन्तर्राष्ट्रिय बजार कारण कि चुनावी चलखेल ?

spot_img
spot_img

काठमाडौं,१२ माघ । नेपाली बजारमा पछिल्लो एक सातायता खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ। भटमास, सूर्यमुखी (सनफ्लावर) र तोरी तेलको खुद्रा मूल्य प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्म बढेपछि सर्वसाधारणको भान्सामा प्रत्यक्ष मार परेको छ।

अहिले बजारमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २९० देखि ३०० रुपैयाँसम्म पुगेको छ भने तोरीको तेल ३८० देखि ४०० रुपैयाँमा बिक्री भइरहेको छ। व्यापारीहरूका अनुसार पछिल्लो एक सातामै तेलको मूल्य प्रतिलिटर ३५ देखि ४० रुपैयाँसम्मले बढेको हो।

काठमाडौंको बबरमहलस्थित एक किराना पसलमा भेटिएका उपभोक्ता जीतबहादुर गुरुङले एक साताअघि प्रतिलिटर २४५ रुपैयाँमा किनेको सनफ्लावर तेल आइतबार २९५ रुपैयाँ तिरेर किन्नुपरेको बताए।
‘एक सातामै एक लिटर तेलमा ५० रुपैयाँ बढ्नु सामान्य होइन,’ उनले भने, ‘किन र कसरी मूल्य बढाइयो भन्नेबारे कसैले स्पष्ट जवाफ दिन सकेको छैन।’
उनका अनुसार नियमनकारी निकायको कमजोरी र चुनावी माहोलको फाइदा उठाउँदै उपभोक्तामाथि लुट मच्चाइएको छ।

होलसेलमै महँगो, खुद्रामा थप भार

नयाँ बानेश्वरस्थित देवी किराना पसलकी देवी पाण्डेले खानेतेलको मूल्य होलसेलबाटै प्रतिकार्टुन ३०० रुपैयाँसम्म बढेर आएको बताइन्। ‘कम्पनीबाटै महँगो आएपछि खुद्रामा झन् बढाएर बेच्नुपर्छ,’ उनले भनिन्, ‘चुनाव नजिकिँदै गर्दा जानाजानी मूल्य बढाइएको हो कि भन्ने शंका छ।’

उद्योगीको दाबी : अन्तर्राष्ट्रिय बजार र भारतको माग कारण

उद्योगीहरू भने अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य बढेकाले खानेतेल महँगिएको दाबी गर्छन्। एक उद्योगीका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड) आपूर्तिमा संकुचन आएको छ।
‘जाडो मौसम र होली पर्व नजिकिँदै जाँदा भारतमा खानेतेलको माग एकाएक बढेको छ,’ उनले भने, ‘भारतमा माग बढेपछि नेपालबाट ठूलो परिमाणमा तेल निकासी हुँदा स्वदेशी बजारमा आपूर्ति अभाव सिर्जना भएको हो।’

उनका अनुसार विशेषगरी सनफ्लावर र भटमास तेलमा बढी चाप परेको छ। तोरी तेलमा भने नेपाल र भारतबीचको कर संरचनाको ठूलो अन्तर समस्याको मुख्य कारण बनेको छ।
‘नेपालमा तोरी तेलमा १३ प्रतिशत भ्याट र ५ प्रतिशत भन्सार लाग्छ, तर भारतमा जम्मा ५ प्रतिशत जिएसटी मात्रै छ,’ उनले भने।

संघको तथ्यांक र वास्तविक बजारबीच ठूलो अन्तर

नेपाल खुद्रा व्यापार संघको तथ्यांकले पछिल्लो १५ दिनमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेको देखाए पनि बजारमा भने ४०–५० रुपैयाँसम्म असुलिएको पाइन्छ।
संघका महासचिव अमुलकाजी तुलाधरले उद्योगीहरूले अन्तर्राष्ट्रिय बजार र डलरको भाउलाई बहाना बनाएर मनलाग्दी मूल्यवृद्धि गरेको आरोप लगाए।
‘६ महिनासम्म पुग्ने स्टक हुँदाहुँदै अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्नेबित्तिकै यहाँ अर्को दिन मूल्य बढ्नु मिलेमतो र अनुगमनको अभाव हो,’ उनले भने।

उनका अनुसार मूल्यवृद्धिमा खुद्रा व्यापारीको भूमिका नगण्य छ र मारमा खुद्रा व्यापारीसँगै उपभोक्ता परेको छ।

उपभोक्ता अधिकारकर्मीको आरोप : चुनावी मौका छोपिएको

निर्वाचनको मुखमा भएको यस मूल्यवृद्धिलाई उपभोक्ता अधिकारकर्मीहरूले ‘चुनावी मौका’ को रूपमा व्याख्या गरेका छन्। उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरी तेल भारत पठाएर नेपाली उपभोक्तामाथि लुट मच्चाएको आरोप लगाए।

उनका अनुसार सरकारले कुल उत्पादनको २५ प्रतिशत तेल स्वदेशी बजारका लागि छुट्याउनुपर्ने नियम भए पनि उद्योगीहरूले त्यसको उल्लङ्घन गरिरहेका छन्।
‘१०० कार्टुन उत्पादन हुँदा २५ कार्टुन नेपालमै राख्नुपर्ने नियम छ,’ उनले भने, ‘तर अहिले ९५ प्रतिशत तेल भारत पठाएर यहाँ अभाव देखाइ महँगोमा बेचिएको छ।’

कडा अनुगमनको माग

उपभोक्ता अधिकारकर्मी र व्यापारी संघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तत्काल प्रभावकारी अनुगमन गरी कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गर्ने उद्योगीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
‘चुनावी मुखमा सर्वसाधारणलाई मारमा पार्ने यस्तो प्रवृत्तिलाई तत्काल रोकिनुपर्छ,’ तिमल्सिनाले जोड दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय