spot_img

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, संयुक्त निर्वाचन सञ्चालन केन्द्र सक्रिय

spot_img
spot_img

काठमाडौं,१२ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ३८ दिन बाँकी रहँदा निर्वाचन आयोगले निर्वाचनका क्रममा देखिन सक्ने समस्या तत्काल समाधान गर्न संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोग परिसरमै स्थापना गरिएको उक्त केन्द्रले निर्वाचनसम्बन्धी सबै प्रकारका समस्या छिटोछरितो रूपमा समाधान गर्ने आयोगले जनाएको छ।

आइतबार औपचारिक रूपमा स्थापना गरिएको केन्द्रको शुभारम्भ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका थिए। उनले कुनै निर्वाचन क्षेत्रमा समस्या उत्पन्न भएमा तत्काल प्रतिक्रिया जनाई आवश्यक निर्णय लिने काम केन्द्रमार्फत हुने बताए।

‘मतदान केन्द्रस्तरमै समाधान हुन नसक्ने समस्या आयोगस्थित केन्द्रबाट तत्काल टुंग्याइन्छ,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले स्पष्ट पारे।

निर्वाचन आयोगका सचिवको नेतृत्वमा रहने यस केन्द्रमा गृह मन्त्रालयका सहसचिवसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सदस्यका रूपमा सहभागी रहने व्यवस्था गरिएको छ।

केन्द्रले निर्वाचन अवधिभर आवश्यक सूचना संकलन, त्यसको विश्लेषण तथा परिस्थिति अनुसार तत्काल निर्णय गरी निष्पक्ष, सुरक्षित र व्यवस्थित निर्वाचन सुनिश्चित गर्ने लक्ष्य लिएको आयोगले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय