जनकपुर,१२ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्धलाई औपचारिक सीमामा मात्र नराखी गहिरो र अर्थपूर्ण बनाउन चाहेकाले सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेको बताएका छन्।
उम्मेदवारी मनोनयन दर्ता गरेको छ दिनपछि सोमबार निर्वाचन क्षेत्र पुगेकै दिन भिडियो सन्देश सार्वजनिक गर्दै थापाले मधेशका मुद्दा बुझेर त्यहीँबाट देशको समग्र समस्या समाधानतर्फ पहल गर्न सकिने विश्वास व्यक्त गरे।
‘मधेशको प्रतिनिधित्व गर्दा त्यहाँका पीडा, आवश्यकता र सम्भावना बुझ्न सकिन्छ । त्यसले अन्ततः नेपालको समग्र समाधानतर्फ डोर्याउँछ,’ थापाले भने।
पहाडबाट झरेको परिवार र काठमाडौंमा हुर्किएको पृष्ठभूमि रहेका कारण मधेशसँग अझ नजिकिन सर्लाहीबाट उम्मेदवारी दिएको उनले स्पष्ट पारे। मधेशका कुरा काठमाडौंमा र काठमाडौंका कुरा मधेशमा पुर्याउने आफ्नो लक्ष्य रहेको पनि उनले बताए।
थापाले काठमाडौं–४ बाट आफूलाई लगातार तीन पटक निर्वाचित गरिदिएका मतदाताप्रति आभार प्रकट गर्दै त्यहाँ प्राप्त माया र विश्वास जीवनको महत्वपूर्ण हिस्साको रूपमा स्मरण गरे।
पार्टी सभापति बनेपछि निर्वाचन क्षेत्र परिवर्तन गर्नु नहुने सुझाव व्यापक रूपमा आएको उल्लेख गर्दै उनले आफू उत्तेजनाको राजनीति होइन, अधिकार, संवाद र एकतामा आधारित राजनीतिमा विश्वास गर्ने स्पष्ट पारे।
‘अधिकार बिना एकता सम्भव हुँदैन, तर उत्तेजनाबाट समाधान पनि आउँदैन,’ थापाको भनाइ छ।



