सर्लाही,१२ माघ । दादुरा महामारी देखिएको सर्लाही सदरमुकाम मलङ्गवामा सोमबारदेखि विशेष खोप अभियान सुरु गरिएको छ । मलङ्गवा नगरपालिकाका दादुरा प्रभावित वडाहरूमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी दादुरा–रुबेलाविरुद्धको खोप लगाउन थालिएको हो ।
मलङ्गवा नगरपालिका–२, ३, ४, ८, ९ र १० मा खोप अभियान सञ्चालन गरिएको छ । विशेष गरी वडा नम्बर ३ स्थित मुस्लिम बस्तीमा दादुरा संक्रमण फैलिन थालेपछि आपतकालीन खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले हालसम्म मलङ्गवा–३ मा २३ जनामा दादुराको लक्षण देखिएको जानकारी दिनुभयो । तीमध्ये सात जनामा ल्याब परीक्षणबाट दादुरा पुष्टि भएको छ भने १६ जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको उहाँले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, मधेश प्रदेश जनस्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय सर्लाही र मलङ्गवा नगरपालिकाको समन्वयमा सोमबार बिहानैदेखि खोप अभियान सुरु गरिएको हो । माघ १६ गतेसम्म छ वटा वडाका करिब आठ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहका अनुसार स्वास्थ्यकर्मीहरू विद्यालय र मदरसामा पुगेर खोप दिइरहेका छन् । स्वास्थ्य कार्यालयमा मौज्दात रहेको खोप प्रयोग गरेर अभियान सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । यसअघि दादुरा–रुबेला विरुद्ध खोप लगाइसकेका बालबालिकालाई पनि अतिरिक्त सुरक्षा दिन विशेष अभियानअन्तर्गत पुनः खोप लगाइने उहाँले बताउनुभयो ।
नेपालमा दादुरा उन्मूलन भइसकेको घोषणा गरिए पनि पुनः संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका सबै निकाय सक्रिय भएका छन् । सोमबार बिहान अभियानको अनुगमन गर्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्री जङ्गीलाल रायले खोप कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई आवश्यक निर्देशन दिनुभएको छ ।
चिकित्सकहरूका अनुसार दादुरा अत्यन्तै सङ्क्रामक रोग हो । यसबाट संक्रमित व्यक्तिले १२ देखि १८ जनासम्मलाई संक्रमण सार्न सक्ने जोखिम हुन्छ । दादुरा लाग्दा उच्च ज्वरो, खोकी, नाकबाट पानी बग्ने, आँखा रातो हुने तथा तीनदेखि पाँच दिनपछि शरीरभरि खटिरा देखिने जस्ता लक्षण देखिन्छन् ।
यो रोग हाछ्युँ, खोक्दा तथा संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कबाट सजिलै सर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । चिकित्सकका अनुसार दादुराबाट जोगिन बालबालिकालाई नौ महिना र १५ महिनाको उमेरमा दुई मात्रा खोप लगाउनु अत्यन्त आवश्यक छ । खोप छुटेका बालबालिकामा दादुरा लाग्ने जोखिम बढी हुने जनाइएको छ ।



