काठमाडौं,१२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानको सिलसिलामा सोमबार नेपालगञ्ज पुगेका छन्। झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडी जिल्लाहरूको दौरा पूरा गरी शनिबार काठमाडौं फर्किएका थिए। काठमाडौंमा आइतबार दिनभर विभिन्न राजनीतिक भेटघाट गरेपछि उनी सोमबार सुदूरपश्चिमतर्फको अभियानमा निस्किएका हुन्।
बालेनको सचिवालयका अनुसार बाँके, बर्दिया हुँदै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा चुनावी कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका तय गरिएको छ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय निर्वाचनमा होमिएका बालेन नेपालगञ्ज पुगेपछि समर्थकहरूको उल्लेखनीय भीड देखिएको थियो। स्थानीय समर्थकहरूले उनलाई उत्साहपूर्वक स्वागत गरेका थिए।



