धनकुटा, १२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक संख्यामा निर्वाचन प्रहरीको आवेदन नपुगेपछि धनकुटामा दोस्रो पटक म्याद थप गरिएको छ। दोस्रो पटक थपिएको म्यादअन्तर्गत ४९३ जनाले निर्वाचन प्रहरीका लागि दरखास्त दिएका छन्।
धनकुटामा जम्मा १ हजार ८५ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा यसका लागि गत पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन माग गरिएको थियो। तोकिएको अवधिमा कोटा अनुसार आवेदन नपुगेपछि पहिलो पटक माघ ३ गतेसम्म म्याद थप गरिएको थियो। सो अवधिमा १ हजार १८ जनाको आवेदन परे पनि सबै छनोट गर्दा पनि ६७ जनाको कमी देखिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी इन्सपेक्टर किशोर तामाङका अनुसार आवेदन दिएका कतिपय व्यक्तिहरू सम्पर्कमा नआउँदा करिब एक सयभन्दा बढी जनशक्ति अपुग हुने अवस्था देखिएको थियो।
मागअनुसार आवेदन नपुगेपछि पुनः दोस्रो पटक माघ १० र ११ गतेका लागि दरखास्त आव्हान गरिएको थियो। सो अतिरिक्त अवधिमा ४९३ जनाको आवेदन परेको प्रहरीले जनाएको छ।
निर्वाचन प्रहरीका लागि आवश्यकताभन्दा बढी आवेदन परेपछि सोमबारबाट छनोट प्रक्रिया सुरु गरिएको इन्सपेक्टर तामाङले जानकारी दिए।
निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ, इलाका प्रहरी कार्यालय छिन्ताङ तथा इलाका प्रहरी कार्यालय राजारानीमार्फत दरखास्त लिने व्यवस्था गरिएको थियो।



