spot_img

मतदाताको शिर निहुराउने काम नगरेको दाबी राप्रपा अध्यक्ष लिङ्देनको

spot_img
spot_img

झापा, १२ माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा झापा–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देनले मतदाताको शिर निहुराउने कुनै पनि काम नगरेको दाबी गरेका छन्।

उहाँले मतदाताले आवश्यक ठानेर विजयी बनाउनेमा ढुक्क रहेको बताउँदै, उम्मेदवार र पार्टी अध्यक्षको हैसियतले जुनसुकै क्षेत्रमा सार्वजनिक बहसमा सहभागी हुन तयार रहेको समेत जानकारी दिनुभयो।

लिङ्देनले भने, “जेन्जी विद्रोह ०८४ निर्वाचन ०८२ को उद्देश्य नभई देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध भएको हो। जेन्जी आन्दोलनलाई अपहरण गरी संसद विघटन गरेर निर्वाचन मिति तोकिएको हो, तर केवल चुनाव गरेर मात्र देश बन्ने होइन। देश बनाउनका लागि सबै राष्ट्रिय शक्ति एक ठाउँमा बसेर नयाँ सहमतिबाट नमिलेका कुराहरू मिलाएर अनिवार्य निर्वाचनमा जानु पर्ने हो।”

सरकारले जबर्जस्ति चुनाव गर्ने निर्णय गरेपछि भाग लिनु प्रजातान्त्रिक विधि भएको उहाँले उल्लेख गर्नुभयो। साथै, सरकार सञ्चालनमा देखिएका अनियमितता रोक्न एक्लै भए पनि सफल भएको दाबी समेत गर्नुभयो।

उहाँले आफ्ना आठ वर्षको सांसद कार्यकालमा निर्वाचन क्षेत्रमा डुवान, शिक्षा, सिंचाई, खानेपानी, सडक लगायतका भौतिक पूर्वाधारमा जनताको अपेक्षाभन्दा बढी काम गरेको ठोकुवा गर्नुभयो। तर भौतिक पूर्वाधार पूरा भए पनि स्वदेशमै रोजगारी सिर्जना नभए विकासको अर्थ नरहेको उहाँको बुझाइ थियो।

लिङ्देनले झापामा विगत १५ वर्ष यताबाट बन्द रहेको एसियाकै दोस्रो मोमेन्टो एपरेल्स (गार्मेन्ट) उद्योग पुनः सञ्चालनमा ल्याउन फाइल अघि बढाइसकेको जानकारी पनि दिनुभयो।

पार्टीसँग गठबन्धनभन्दा मतदातासँग गठबन्धन गर्नु उपयुक्त ठानेर यस पटक १६५ निर्वाचन क्षेत्रमा छुट्टै उम्मेदवार उठाएको र यस निर्वाचनले राप्रपा देशको निर्णायक बन्ने उहाँको दावी छ।

विगतमा लिङ्देनलाई कडा चुनौती दिने काँग्रेसका सिटौला यसपटक चुनावी मैदानमा नदेखिएपछि लिङ्देन आफ्नो ‘ह्याट्रिक’ सुनिश्चित गर्ने तयारीमा रहेको बताइएको छ। उनले लगातार दुईपटक २०७४ र २०७९ मा सिटौलालाई पराजित गर्दै झापा–३ मा आफ्नो पकड बनाएकोमा ढुक्क रहेको जानकारी दिनुभयो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय