spot_img

बीरगन्ज नाकाबाट पेट्रोलियम पदार्थ आयात बढ्दो

spot_img
spot_img

बीरगन्ज,१३ । बीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो छ महिनामा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ७५ करोड रुपैयाँले बढी हो।

बीरगन्ज  भन्सार कार्यालयका अनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ८७ अर्ब ३१ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड रुपैयाँ राजस्व उठेको थियो।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले पेट्रोलियम पदार्थको आयातसँगै त्यसबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि देखिएको जानकारी दिए।

भन्सार तथ्यांकअनुसार चालु आवको छ महिनामा ४५ अर्ब ३८ करोड रुपैयाँ बराबरको डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै, २० अर्ब ९८ करोड रुपैयाँ मूल्यको पेट्रोल आयातबाट १३ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठेको छ।

त्यसैगरी, १४ अर्ब ७९ करोड रुपैयाँ बराबरको एलपीजी ग्यास आयात हुँदा २ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

पेट्रोलियम पदार्थको बढ्दो आयातले औद्योगिक, व्यावसायिक तथा यातायात क्षेत्रको माग बढ्दै गएको संकेत गर्ने सरोकारवालाहरूको भनाइ छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय