चितवन,१३ माघ । तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोङद्राङबेसीस्थित त्रिशूली नदी किनारमा फेला परेको गणपति डिलक्स बसबाट मानव अवशेष भेटिएको छ।
बस उत्खनन सुरु गरेको १६औँ दिनमा बसको बीच भागको सिट नजिकबाट एउटा मानव अवशेष फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए। उनका अनुसार फेला परेको अवशेष चिकित्सकसहितको टोलीले भरतपुर अस्पतालको शवगृहमा ल्याइएको छ। अवशेषको पहिचान र थप परीक्षण प्रक्रिया चितवनबाटै अघि बढाइने उनले बताए।
सोमबार बसको इन्जिन भाग टुक्र्याएर बाहिर निकालिएको छ भने पछाडिको र बीचको भाग अझै निकाल्न बाँकी रहेको छ। बसको बीच भागमै अवशेष भेटिएकाले थप अवशेष हुन सक्ने सम्भावना रहेको र उत्खनन कार्य निरन्तर जारी रहने मिलन चेनपुली कम्पनीका प्रमुख सन्तबहादुर श्रेष्ठ (टायर कान्छा) ले बताए। सबै भाग छुट्याएर निकाल्ने काम छिट्टै सकिने उनले बताए।
उत्खनन कार्यमा मिलन चेनपुली कम्पनी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली चेनपुलीको सहायतामा खटिएको छ। गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा गाडीको अवशेष देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसयता नेपाल प्रहरी र सशस्त्र प्रहरीले बालुवा हटाउँदै अवशेष निकाल्ने काम गर्दै आएका छन्।
२०८१ असार २८ गते काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको अर्को बस नारायणगढदेखि करिब २२ किलोमिटर पूर्वोत्तर भरतपुर–२९ सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा खसेका थिए। दुवै बसमा रहेका ६५ यात्रुमध्ये गणपति यातायातको बसका तीन यात्रु भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए।
दुर्घटनापछि केही शव मात्र फेला परेका थिए। बस र यात्रु खोज्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोरसहित करिब पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको थियो। खोजी कार्यका लागि वाटर ड्रोन (सोनार) प्रयोग गरिएको थियो भने सरकारले भारतबाट समेत उच्च प्रविधिसहितका गोताखोर ल्याएको थियो। लामो समयसम्मको प्रयासपछि अहिले आएर बस र मानव अवशेष फेला परेको हो।




