spot_img

आचारसंहिता खुलेआम उल्लंघन, सप्तरी–२ मा अनुगमन समिति र प्रशासन मौन

spot_img
spot_img

राजविराज,१३ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता उल्लंघनका घटना देखिन थालेका छन्। स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचन सुनिश्चित गर्न निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि आचारसंहिता लागू गरे पनि सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा त्यसको खुलेआम उल्लंघन भइरहेको छ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत उम्मेदवार रहेको सो निर्वाचन क्षेत्रमा पार्टीसम्बद्ध नेता–कार्यकर्ताले सोमबार मध्यरातमै राजविराजका मुख्य चोक–चोकमा चुनाव चिन्ह अंकित तोरण टाँगेका छन्। गजेन्द्र चोक, विभिन्न चौबाटो हुँदै नेता चोकसम्मका सडक र चौतर्फी क्षेत्रमा जनमत पार्टीका तोरण राखिएको छ।

निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा पनि तोरण टाँगिएका स्थानमै प्रहरीको नियमित ड्युटी रहँदा समेत कुनै हस्तक्षेप नहुनुले प्रशासनको भूमिकामाथि प्रश्न उठेको छ। जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक मुख्य निर्वाचन अधिकृत, सह–संयोजक प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायहरू पनि घटनाप्रति मौन देखिएका छन्।

यस विषयमा प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आचारसंहिताको पालना गराउने विषयमा राजनीतिक दलहरूसँग छलफलको तयारी भइरहेको बताए। ‘निर्वाचन आचारसंहिताअनुसार तोरण टाँग्न पाइँदैन। हामी कडाइका साथ आचारसंहिता कार्यान्वयन गराउनेछौँ,’ उनले भने।

त्यसैगरी जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक तथा जिल्ला न्यायाधीश किशोर घिमिरेले राजनीतिक दल र उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको जानकारी दिए।
‘छलफलबाट केही निकास निस्कने अपेक्षा गरेका छौँ,’ उनले भने।

निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ अन्तर्गत राजनीतिक दल, उम्मेदवार तथा तिनका भातृ संगठनले पालना गर्नुपर्ने आचरण उल्लेख छ। सोही परिच्छेदको बुँदा (१)(थ) अनुसार दलको झण्डा वा दल अथवा उम्मेदवारको चुनाव चिन्ह अंकित तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न नपाइने स्पष्ट व्यवस्था रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय