काठमाडौं,१३ माघ । नेकपा एमालेका सांसद गोपाल भट्टराईले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन गरेको निर्णयप्रति आपत्ति जनाएका छन्।
मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भट्टराईले भने, “अहिले देश ग्रे लिस्टमा छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दा कमजोर बनाउने कार्यले देशलाई ब्ल्याक लिस्टतर्फ लैजाने खतरा बढाउँछ। यदि राज्य संयन्त्र नै अपराधलाई प्रोत्साहन गर्ने हो भने अब ब्ल्याक लिस्टमा जान कसले रोक्ने?”
सांसद भट्टराईले थपे कि नेपालले अन्तर्राष्ट्रिय समुदायको आग्रहअनुसार सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी कानुन निर्माण र कार्यान्वयनका लागि विभिन्न सम्झौतामा हस्ताक्षर गरिसकेको छ। उनले शंका व्यक्त गर्दै भने, “यो कदमले देशलाई अझै जोखिमपूर्ण स्थितिमा पुर्याउने, विदेशी शक्तिहरूको हस्तक्षेप बढ्ने सम्भावना बढाएको देखिन्छ।”
महान्यायाधिवक्ताको कार्यालयले विभिन्न सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका लामिछानेमाथि लगाइएका मुद्दा परिमार्जन गरी फिर्ता लिने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भइसकेको छ।




