बीरगन्ज,१३ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगुवा नेता तथा कार्यकर्ताको भेला आयोजना गरेको छ। पार्टी स्रोतका अनुसार भेला कार्यक्रममा संगठन सुदृढीकरण, आगामी राजनीतिक र चुनावी रणनीति, साथै क्षेत्रका विविध जनसमस्याबारे व्यापक छलफल गरिएको थियो।
भेलामा सहभागी नेताहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र उत्तरदायी राजनीति पार्टीको मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले परम्परागत राजनीतिक अभ्यासले नागरिकमैत्री नहुने बताए र नयाँ सोच र कार्यशैली आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा पार्टी संगठनलाई स्थानीय तहमा प्रभावकारी बनाउने, नयाँ कार्यकर्ता सक्रिय गर्ने र पुराना कार्यकर्तासँग समन्वय मजबुत गर्ने विषयमा विशेष जोड दिइएको थियो। साथै पार्टीको नीति, सिद्धान्त र आगामी रणनीतिबारे पनि छलफल गरिएको थियो। भेलामा पर्सा–२ क्षेत्रका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले परम्परागत राजनीतिबाट अलग रही नीतिगत, जवाफदेही र परिणाममुखी राजनीति अपरिहार्य भएको भन्दै रास्वपा त्यसै दिशामा अघि बढिरहेको बताए।
साथै, आगामी फागुन २१ को निर्वाचन लक्षित गर्दै पार्टीका उम्मेदवारलाई विजयी बनाउने रणनीति, घरदैलो अभियान प्रभावकारी बनाउने र मतदातासँग प्रत्यक्ष संवाद बढाउने विषयमा गम्भीर छलफल भएको जनाइएको छ। सहभागीहरूले नयाँ तथा पुराना कार्यकर्ताबीच आपसी परिचय र संगठनात्मक एकता थप मजबुत भएको बताए। पार्टीले यस्ता भेला कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै स्थानीय तहमा नागरिकसँग प्रत्यक्ष संवाद गर्दै जनआधारित राजनीति अघि बढाउने जनाएको छ।



