spot_img

भुक्तानी र योजना विभेदको आरोपमा गौशाला नगरपालिकामा तालाबन्दी

spot_img
spot_img

महोत्तरी,१३ माघ । महोत्तरीको गौशाला नगरपालिकामा वडाध्यक्षको नेतृत्वमा तालाबन्दी गरिएको छ। वडा नम्बर १ का वडाध्यक्ष नवीन साहको नेतृत्वमा मंगलबार नगरपालिकामा पुगेका स्थानीयवासीले नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका हुन्।

गत आर्थिक वर्षमा सम्पन्न वडास्तरीय योजनाको भुक्तानी रोक्का गरिएको तथा चालु आर्थिक वर्षका योजनाको बाँडफाँटमा असमान व्यवहार गरिएको आरोप लगाउँदै तालाबन्दी गरिएको वडाध्यक्ष साहले बताए। उनका अनुसार नगरपालिकाका अन्य सबै वडामा योजना र बजेट विनियोजन भए पनि वडा नं. १ लाई भने जानाजानी वञ्चित गरिएको छ।

‘हाम्रो वडामा काम हुन नदिने नियतले एकमुष्ट बजेट राखिएको छ,’ वडाध्यक्ष साहले आक्रोश व्यक्त गर्दै भने, ‘कतिपय विषयमा सचेत गराएकै कारण मेयरले सिंगो वडामाथि विभेदपूर्ण व्यवहार देखाएका छन्।’ उनले समस्या समाधान नभएसम्म तालाबन्दी नखोल्ने चेतावनी दिए।

तालाबन्दीका कारण मंगलबार नगरपालिकामा पुगेका सेवाग्राहीको कामकाज प्रभावित भएको छ भने कार्यालयको नियमित प्रशासनिक गतिविधि समेत अवरुद्ध भएको छ।

यता, गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्र महतोले भने स्थानीयस्तरबाट व्यापक गुनासो आएपछि केही योजनाको भुक्तानी प्रक्रिया रोकिएको प्रतिक्रिया दिए। उनले वडा नं. १ मा सञ्चालित डिप बोरिङ योजनामा आर्थिक अनियमितताको आरोप तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेकाले भुक्तानीमा कडाइ गरिएको बताए।

योजना बाँडफाँट नगरसभाको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै नगरप्रमुख महतोले त्यसको जवाफ नगरसभाबाटै आउने स्पष्ट पारे। उनले बुधबारदेखि नगरपालिकाको नियमित सेवा सञ्चालन गर्ने तयारी रहेको जानकारी पनि दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय