spot_img

समानुपातिकतर्फ २ करोडभन्दा बढी मतपत्र छपाइ सम्पन्न

spot_img
spot_img

काठमाडौं,१३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र रूपमा अघि बढाएको छ। आयोगका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु भइसकेको छ।

निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा उच्च सुरक्षा प्रबन्धसहित मतपत्र छपाइ गरिरहेको जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ पूरा भइसकेको छ।

मतपत्र छपाइ कार्य नेपाली सेनाको सुरक्षा घेराभित्र भइरहेको र छपाइ सम्पन्न मतपत्र फागुन ५ गतेभित्र सम्बन्धित निर्वाचन केन्द्रहरूमा पुर्‍याउने लक्ष्य लिइएको आयोगले जनाएको छ। मतदान अधिकृतहरूले कानुन बमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था गरिएको छ।

भण्डारीका अनुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ १५ दिनभित्र सम्पन्न गरिनेछ। यसअघि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फ बन्दसूचीमा समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नेमा आफू विश्वस्त रहेको पनि जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय