रौतहट,१३ माघ । मधेश प्रदेश सभाका पूर्व सदस्य नागेन्द्रप्रसाद सिन्हाको मंगलबार निधन भएको छ। ७३ वर्षीय सिन्हाको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी श्रीमती र ईशनाथ नगरपालिकाका नगर प्रमुख कौशल्या देवीले जानकारी दिइन्।
नेपाली कांग्रेसबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ (क) बाट निर्वाचित सिन्हा, तत्कालीन प्रदेश नं. २ का प्रदेशसभा सदस्य थिए। उनी साबिक औरैया गाबिसको दुई कार्यकालसम्म अध्यक्ष रहिसकेका थिए।
ईशनाथ नगरपालिका वडा नं. २ निवासी सिन्हा आफ्नो सरल, मिलनसार र जनमुखी स्वभावका कारण स्थानीय जनतामाझ अत्यन्त लोकप्रिय थिए। गाउँ, समाज र क्षेत्रीय उत्थानमा उहाँको योगदान जीवनको अन्तिम क्षणसम्म निरन्तर रह्यो। स्थानीय वासिन्दा किशोरी यादवका अनुसार सिन्हाको सामाजिक विकास र जनसरोकारका लागि गरेको काम सदैव अविस्मरणीय रहनेछ।
उनको निधनप्रति विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था र सर्वसाधारणले गहिरो दुःख व्यक्त गरेका छन्।



