काठमाडौं,१४ माघ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आचारसंहिताको प्रभावकारी अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता पालनालाई कडाइका साथ अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ। उनीहरूलाई आर्थिक विषय बाहेकका आचारसंहिता सम्बन्धी कार्यको अनुगमन गर्ने जिम्मेवारी तोकिएको आयोगले जनाएको छ।
आर्थिक कारोबार तथा खर्चसँग सम्बन्धित विषयको अनुगमनका लागि भने प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई छुट्टाछुट्टै जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, विश्वासनीय र मर्यादित ढंगले सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइसकेको छ। उक्त आचारसंहिता माघ ४ गतेदेखि लागू भइसकेको आयोगले जनाएको छ।




