जनकपुर,१४ माघ । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा होमिएसँगै मधेशको चुनावी तापक्रम एकाएक बढेको छ। काठमाडौं–४ बाट लगातार तीन पटक विजयी भइसकेका थापाले ‘कोर मधेश’ मानिने सर्लाही–४ रोज्नुले राष्ट्रिय राजनीतिमा समेत चासो बढाएको छ।
२०७९ को निर्वाचनमा कांग्रेसले सर्लाहीका कुनै पनि क्षेत्रमा जित नहासिल गरेको पृष्ठभूमिमा थापाको यो निर्णयलाई साहसिक र जोखिमपूर्ण दुवैका रूपमा हेरिएको छ। उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका अमरेशकुमार सिंहले कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै सर्लाही–४ जितेका थिए। यसपालि भने अमरेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका रूपमा मैदानमा छन्।
थापा यस क्षेत्र रोज्नुको कारण समग्र देश बुझ्न मधेशमा ‘डुब्नुपर्ने’ आवश्यकता रहेको बताउँछन्। “पहाडमा हुर्किएको मान्छे हुँ । मधेशलाई नबुझी राष्ट्रिय दृष्टिकोण बनाउन सकिँदैन,” उनले बताएका छन्। मधेशको शिक्षा सुधार, सूचना प्रविधिमैत्री शिक्षा र स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर सर्लाही–४ आएको उनको भनाइ छ।
तर, सर्लाही–४ को राजनीतिक इतिहास सरल छैन। अमरेश सिंह, शिवपूजन राय यादव, महन्थ ठाकुरजस्ता नेताहरूको शक्ति संघर्ष, विगतका चुनावमा भएका हिंसात्मक घटना, जातीय समीकरण र दलगत फुटले यो क्षेत्र सधैं पेचिलो रहँदै आएको छ।
अमरेश सिंह २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भए पनि यस पटक पुराना समर्थकहरू टाढिँदै गएको देखिन्छ। अर्कोतर्फ, रास्वपा प्रवेशसँगै युवामाझ उनको प्रभाव कायमै रहेको कतिपयको आकलन छ। समानान्तर रूपमा एमाले, स्वतन्त्र उम्मेदवारहरू र पारिवारिक राजनीतिक सञ्जालसमेत चुनावी समीकरणमा सक्रिय छन्।
सर्लाही–४ मा १ लाख २१ हजारभन्दा बढी मतदाता छन्। यादव, दलित, कुशवाहा, मुस्लिम, सिंह (राजपुत) लगायत समुदायको मिश्रित बसोबास रहेको यो क्षेत्रमा जातीय र स्थानीय समीकरणले निर्णायक भूमिका खेल्ने गर्दछ।
कांग्रेस सभापति स्वयं उम्मेदवार भएपछि पार्टी संगठन पनि सक्रिय बनेको छ। कांग्रेस नेताहरूले हराएका कार्यकर्ता फर्किएको दाबी गर्दै यो पटक परिणाम फरक हुने आशा व्यक्त गरिरहेका छन्।
विगतमा हिंसात्मक रूपमा चिनिएको सर्लाहीको चुनाव अहिले भने तुलनात्मक रूपमा शान्त बन्दै गएको स्थानीय बताउँछन्। प्रहरीले यस पटक उच्च सुरक्षा सतर्कता अपनाइने जनाएको छ।
मधेशको प्रतिनिधित्व, राष्ट्रिय नेतृत्वको महत्वाकांक्षा र स्थानीय शक्तिसन्तुलनबीच गगन थापा, अमरेश सिंहलगायत उम्मेदवारको प्रतिस्पर्धाले सर्लाही–४ लाई यस निर्वाचनको सबैभन्दा चासोको क्षेत्रमध्ये एक बनाएको छ।




