बीरगन्ज,१४ माघ । बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी बुहारीलाई नियन्त्रणमा लिएको छ।
घरभित्र धारिलो हतियार प्रयोग गरी गरिएको आक्रमणमा ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो। घटनाको अनुसन्धानका क्रममा मृतक रामेश्वरकी श्रीमती २५ वर्षीया मनिता देवी मण्डललाई पक्राउ गरी सोधपुछ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।
प्रहरीका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएपछि मनितालाई अनुसन्धानको दायरामा ल्याइएको हो। आज बिहान करिब ३ बजेतिर अज्ञात व्यक्तिहरू घरभित्र प्रवेश गरी सुतिरहेको परिवारमाथि धारिलो हतियारले आक्रमण गरेका थिए।
घटनामा ५२ वर्षीय जगरुप मण्डल र २२ वर्षीया रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हत्या कसले र के कारणले गरेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।




