सर्लाही,१४ माघ । परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार साँझ सर्लाहीको लालबन्दीस्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेक जुटपानीमा जिल्लाका सुरक्षा अधिकारीलाई निर्वाचन लक्षित निर्देशन दिँदै मन्त्री शर्माले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आवश्यक सबै सुरक्षा प्रबन्ध कडाइका साथ लागू गरिने स्पष्ट पारे।
उहाँले सर्लाहीमा निर्वाचनका लागि तयार पारिएको सुरक्षा योजनाबारे सुरक्षा अधिकारीहरूसँग जानकारीसमेत लिनुभएको छ। यसपटक सर्लाहीमा मुलुकका शीर्षस्थ नेताहरू समेत चुनावी प्रतिस्पर्धामा रहेकाले थप चनाखो भएर कुनै पनि प्रकारको विवाद उत्पन्न हुन नदिन सुरक्षा व्यवस्था सुदृढ गर्न निर्देशन दिएको सर्लाहीका एक सुरक्षा अधिकारीले बताए।
मन्त्री शर्मा मधेश प्रदेशमा निर्वाचनलक्षित शान्ति–सुरक्षाको अवस्था र तयारीबारे बुझ्ने क्रममा मंगलबार साँझ सर्लाही आइपुग्नुभएको हो। समय अभावका कारण उहाँले जिल्ला सदरमुकाम मलङ्गवा पुग्ने कार्यक्रम स्थगित गर्दै सुरक्षा अधिकारीहरूलाई अपर्झट पाँचकुमारीस्थित नेपाली सेनाको गणमै बोलाएर छलफल गर्नुभएको थियो।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का र सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दलगायतले जिल्लाको निर्वाचन सुरक्षा तयारीबारे मन्त्री शर्मालाई जानकारी गराएका थिए। त्यस्तै जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले निर्वाचन व्यवस्थापन र तयारीका विषयमा जानकारी गराएका छन्।
निर्वाचन सुरक्षा रणनीति तयार पार्ने उद्देश्यले जिल्लाका सुरक्षा अधिकारीहरू मतदान स्थलको निरीक्षणमा खटिएका छन्। सर्लाहीमा रहेका ३१२ मतदान स्थलमध्ये १५८ अति संवेदनशील, १३१ संवेदनशील र २३ सामान्य सूचीमा परेका छन्। चारवटै निर्वाचन क्षेत्रमा गरी सर्लाहीमा कुल ५ लाख ११ हजार ६०६ मतदाता रहेका छन्। यहाँ क्षेत्र नं. १ बाट २८, क्षेत्र नं. २ बाट ३१, क्षेत्र नं. ३ बाट ३४ र क्षेत्र नं. ४ बाट ३८ गरी जम्मा १३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।




