spot_img

विरासत जोगाउने रणनीतिमा पूर्वमन्त्री हृदयेश त्रिपाठी

spot_img
spot_img

नवलपरासी,१४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) क्षेत्र नम्बर–१ मा चुनावी माहोल तातेको छ। दशकौँदेखि यस क्षेत्रको राजनीतिक नेतृत्व गर्दै आउनुभएका पूर्वमन्त्री हृदयेश त्रिपाठी विकासका एजेण्डा र आफ्नै राजनीतिक विरासतसहित पुनः चुनावी मैदानमा उत्रिनुभएको छ।

जनता समाजवादी पार्टी (जसपा) सँगको सहकार्यमा उम्मेदवार बनेका त्रिपाठी आफ्नो लामो संसदीय अनुभवलाई मुख्य आधार बनाएर मतदाताको घरदैलोमा पुगिरहनुभएको छ।

चार दशकको संसदीय यात्रा
वि.सं. २०४८ सालदेखि संसदीय राजनीतिमा सक्रिय रहनुभएका त्रिपाठी यस क्षेत्रबाट २०४८, २०५१, २०५६ र २०७४ सालको निर्वाचनमा विजयी हुनुभएको छ। यसपटक उहाँ जसपाको तर्फबाट निर्वाचनमा होमिनुभएको हो।
त्रिपाठीले विभिन्न समयमा स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला तथा सामान्य प्रशासन र भौतिक पूर्वाधार जस्ता महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ।
स्वास्थ्य क्षेत्रमा योगदानलाई चुनावी आधार
यस निर्वाचनमा त्रिपाठीले आफ्नो प्रमुख उपलब्धिका रूपमा स्वास्थ्य मन्त्री हुँदा जिल्लामा गरेको कामलाई अगाडि सारेका छन्। कोभिड–१९ महामारीका क्रममा पृथ्वीचन्द्र अस्पतालको सेवा विस्तार र क्षमता अभिवृद्धिमा उहाँको भूमिका उल्लेखनीय रहेको दाबी गरिन्छ। उहाँकै पहलमा अस्पतालमा अक्सिजन प्लान्ट जडान, आधुनिक शय्या व्यवस्थापन, आईसीयू, भेन्टिलेटर तथा डायलासिस सेवाका लागि आवश्यक उपकरण उपलब्ध गराउन केन्द्रबाट नीतिगत र बजेटरी सहजीकरण भएको बताइन्छ।

“यो क्षेत्रको भूगोल र जनभावनालाई मैले नजिकबाट बुझेको छु। मन्त्री हुँदा मात्र होइन, जुनसुकै भूमिकामा रहे पनि नवलपरासीको विकास मेरो प्राथमिकता रह्यो,” त्रिपाठीले चुनावी सभामा भन्नुभएको छ।यद्यपि, लामो समय सत्ता र मन्त्रालयको नेतृत्व गरे पनि क्षेत्रको समग्र विकास अपेक्षाअनुसार नभएको भन्दै उहाँ आलोचनाको घेरामा हुनुहुन्छ।

पूर्वाधारमा सुस्तता : सडक, पुल र भौतिक पूर्वाधारका ठूला आयोजना अपेक्षित रूपमा अघि बढ्न नसकेको र कतिपय ग्रामीण क्षेत्र अझै आधारभूत सुविधाबाट वञ्चित रहेको विपक्षीहरूको आरोप छ।

बारम्बार दल परिवर्तन : पटक–पटक दल परिवर्तन गरेको भन्दै त्रिपाठीको वैचारिक स्थिरतामाथि पनि प्रश्न उठ्दै आएको छ, जसले चुनावी अभियानमा दबाब सिर्जना गरेको देखिन्छ।
चुनावी एजेण्डा: कृषि, स्वास्थ्य र पूर्वाधार
यसपटक त्रिपाठीले कृषि सुधार, उखु किसानका समस्या समाधान, मल–बीउको समयमै उपलब्धता, स्वास्थ्य तथा शिक्षाको गुणस्तर वृद्धि र अधुरा पूर्वाधार आयोजनाको पूर्णतालाई मुख्य एजेण्डा बनाएका छन्।
चुनौती र अवसरको दोधार
युवा तथा नयाँ अनुहारको कडा चुनौतीका बीच त्रिपाठीका लागि अनुभव, पुरानो राजनीतिक पकड र पृथ्वीचन्द्र अस्पतालजस्ता प्रत्यक्ष देखिने विकासका कामहरू बलिया आधार मानिन्छन्। मतदाताले अनुभवलाई प्राथमिकता दिन्छन् वा परिवर्तनलाई, यही निर्णयले नवलपरासी–१ को निर्वाचन परिणाम तय गर्ने देखिन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय