काठमाडौँ,१५ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सम्भव भएसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति अवलम्बन गरेको छ। निर्वाचनलाई मितव्ययी, पारदर्शी र स्थानीय उत्पादनमैत्री बनाउन यो नीति लागू गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रक्रियामा जम्मा ५१ प्रकारका सामग्री प्रयोग गरिनेछ, जसमध्ये ३७ प्रकारका सामग्री प्रदेश र जिल्ला तहबाट विकेन्द्रीकृत रूपमा खरिद गरी प्रयोगमा ल्याउने व्यवस्था गरिएको छ। बाँकी १४ प्रकारका सामग्री भने केन्द्रस्तरबाट खरिद गरिनेछ।
केन्द्रबाट खरिद हुने अधिकांश सामग्री ‘जिटुजी’ (सरकार–सरकार) अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीमार्फत व्यवस्थापन गरिँदै आएको प्रवक्ता भट्टराईले जानकारी दिए। निर्वाचनका लागि करिब ६ करोड ७५ लाख रुपैयाँ बराबरको मात्र नयाँ सामग्री खरिद गरिएको र बाँकी आवश्यक सामग्री पुरानो मौज्दात (स्टक) पुनः प्रयोगमा ल्याइएको उनले बताए।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता, दाबी–विरोध तथा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रमहरू सम्पन्न भइसकेका छन्। अब निर्वाचनको दिन नजिकिँदै जाँदा आयोगले तयारीलाई थप तीव्र बनाउने जनाएको छ




