काठमाडौँ,१५ माघ । नेपाली कांग्रेसका पूर्वसांसदहरूले सर्वोच्च अदालत जाने तय गरिएको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेकाले आज (बिहीबार) का लागि तय गरिएको भेटघाट स्थगित गरिएको हो।
नेपाली कांग्रेसले जारी गरेको सूचनामा ‘विशेष कारण’ देखाउँदै कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ। सूचनामा भनिएको छ, “डेलिगेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ।”
विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेका अनुसार प्रधानन्यायाधीश राउतको सचिवालयबाट फोन आएर आजका लागि तय भएको भेटघाट तत्कालका लागि स्थगित गरिएको जानकारी दिइएको हो।
यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०:३० बजे सर्वोच्च अदालत जाने कार्यक्रम तय गरिएको थियो। कांग्रेसका ६५ जना पूर्वसांसदहरूले संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन्। तर ती रिटहरूमाथि सर्वोच्च अदालतले अहिलेसम्म सुनुवाइ सुरु गरेको छैन।




