बीरगन्ज,१५ माघ । मधेसको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित बीरगन्जमा आजदेखि ‘दोस्रो मधेश साहित्य महोत्सव’ सुरु हुँदैछ। मधेस विश्वविद्यालयको परिसरमा आयोजना हुने तीन दिने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक संस्था उत्कर्ष नेपालले जनाएको छ।
महोत्सवको औपचारिक उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गर्ने कार्यक्रम छ। उद्घाटन सत्रमा ‘गाँवः स्मृति, मिथक र यथार्थ’ विषयमा भाष्कर गौतमले बीजपत्र प्रस्तुत गर्नेछन्।
आयोजक संस्थाका अध्यक्ष रितुराज साहका अनुसार महोत्सवको उद्देश्य मधेसको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नुका साथै युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्नु हो।
महोत्सवका क्रममा साहित्यसँगै समसामयिक सामाजिक र राजनीतिक विषयमा केन्द्रित विभिन्न सत्रहरू सञ्चालन गरिनेछ। ‘गाँवः युवास् पलायन, पोलिसी र विकल्प’ सत्रमा वसन्तकुमार कुशवाहा, भोगेन्द्र झा र सलोनी प्रधान सिंहले मधेसबाट भइरहेको युवा पलायन र त्यसका नीतिगत समाधानबारे छलफल गर्नेछन्।
त्यस्तै, ‘गाँवः लोकतन्त्र र सत्ता’ शीर्षकको सत्रमा सुरेश ढकाल, सुचेता प्याकुरेल र सविन निङ्ग्लेखुले ग्रामीण लोकतन्त्र र शक्ति सन्तुलनका विषयमा विमर्श गर्नेछन्। मधेसको इतिहास र सामूहिक स्मृतिको खोजीका लागि ‘गाँवः स्मृति र इतिहास’ सत्रमा गोपाल ठाकुर, अञ्जय मिश्र, त्रिभुवन बरई र राकेश मिश्र वक्ताका रूपमा रहने आयोजकले जानकारी दिएको छ।
देशभरका साहित्यकार, लेखक, कवि र चिन्तकहरूको सहभागिता रहने यस महोत्सवमा कविता वाचन, पुस्तक विमोचन, साहित्यिक विमर्शसँगै सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछ। तीन दिनसम्म चल्ने यो महोत्सवले मधेसका ओझेलमा परेका कथा, इतिहास र अनुभूतिको मूलधारमा प्रवेश गराउने विश्वास आयोजकले व्यक्त गरेका छन्।




