spot_img

कमला नदीमा अस्थायी डाइभर्सन, सवारी आवत–जावत सहज

spot_img
spot_img

सिरहा,१५ माघ । सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएपछि सवारी आवत–जावत सहज भएको छ। हुलाकी राजमार्गअन्तर्गत नदीमा वर्षौंदेखि भासिएको पुलको विकल्पमा ह्युमपाइप राखेर डाइभर्सन बनाइएको हो, जसबाट साना–ठुला सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्।

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले बताएअनुसार, “यसले स्थानीय बासिन्दा र मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुहरूलाई ठूलो राहत दिएको छ।” गत मङ्सिर ५ गते निवर्तमान भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै तत्काल पुनर्निर्माण अघि बढाउन र अस्थायी आवत–जावतको व्यवस्था मिलाउन निर्देशन दिएका थिए। निर्देशनअनुसार निर्माण कम्पनीले ह्युमपाइप राखेर डाइभर्सन तयार पारेको हो।

यसअघि स्थानीयहरूले बनाएको बाँसको पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्थ्यो। बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा स्थानीयले डुङ्गामा चढेर ज्यान जोखिममा राखेर यात्रा गर्नु पर्ने बाध्यता थियो। अलपत्र अवस्थामा रहेको पुल निर्माण अहिले अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले दैनिक ४०–५० जना कामदार खटाएर असार मसान्तभित्र पुलबाटै सवारी सञ्चालन हुने गरी काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।

निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले भने, “हामी बाँकी संरचनात्मक काम द्रुत गतिमा गरिरहेका छौँ। असार मसान्तभित्र काम पूरा गर्ने हाम्रो लक्ष्य हो।” यो पुल १४ वर्षदेखि निर्माणमा छ। विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको निर्माण २०७८ सालको बाढीले दुई पिलर भासिँदा चार स्ल्याबमा क्षति पुर्‍याएपछि रोकिएको थियो।

स्थानीय युवा सन्तोष यादवले भने, “डाइभर्सनले तत्काल सजिलो बनाएको छ, तर तोकिएको समयमै पुल पूरा हुनु पर्छ। यसमा सबै गम्भीर हुनु आवश्यक छ।” पुल सम्पन्न भएपछि सिरहा–धनुषा हुलाकी राजमार्गको मेरुदण्ड भएर हजारौँ नागरिकको कठिन यात्रा समाप्त हुनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय