वीरगंज, १५ माघ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले निर्वाचन क्षेत्रभित्र पर्ने कलैया उपमहानगरपालिका–११ विश्वम्भरपुरमा घरदैलो अभियान सम्पन्न गरेका छन् ।
स्थानीय बासिन्दाको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा उम्मेदवार साहले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो राजनीतिक दृष्टिकोण तथा विकाससम्बन्धी योजनाहरू प्रस्तुत गरेका थिए ।
घरदैलो अभियानका क्रममा साहले भ्रष्टाचार, अव्यवस्था र सरकारी संयन्त्रभित्र मौलाउँदै गएको दलीय हस्तक्षेपको अन्त्य गर्दै पारदर्शी, जवाफदेही र जनमुखी शासन व्यवस्था स्थापित गर्ने प्रतिबद्धता जनाए । “समृद्ध र विकसित देश निर्माणका लागि नागरिकको सक्रिय भूमिका अपरिहार्य छ,” भन्दै उनले घण्टी चिन्हमा मतदान गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै साहले बारा जिल्लाको सदरमुकाम कलैयामा देखिएका सडक, सरसफाइ, खानेपानी, शिक्षा तथा स्वास्थ्य सेवासम्बन्धी समस्याहरूको दीर्घकालीन समाधानका लागि आफूले ठोस योजना बनाइसकेको बताए । “स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गर्दै कलैयाको समग्र विकासका लागि म स्पष्ट कार्ययोजनाका साथ अघि बढ्नेछु,” उनले उल्लेख गरे ।
उनले कलैयालाई आधुनिक पूर्वाधार, योजनाबद्ध सहरी विकास र नागरिकमैत्री सेवासहितको ‘नमुना सहर’का रूपमा विकास गर्दै मधेस प्रदेशकै प्रमुख केन्द्र बनाउने लक्ष्य रहेको बताए । स्थानीय सरकार र सङ्घीय निकायबीच प्रभावकारी समन्वयमार्फत सार्वजनिक सेवा प्रवाहलाई अझ सुदृढ बनाउन सकिने उनको भनाइ थियो ।
साथै, साहले युवाहरूका लागि रोजगारीमुखी सीप विकास, महिलाको उद्यमशीलता प्रवर्द्धन तथा कृषिमा आधुनिक प्रविधिको प्रयोगमार्फत आर्थिक गतिविधि विस्तार गर्ने योजनाहरू समेत रहेको जानकारी दिए ।




