spot_img

निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा नयाँ मतदाता उत्साहित

spot_img
spot_img

काठमाडाैं,१५ माघ । म्याग्दीमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन प्रक्रिया पूरा गरी मत माग्न गाउँ–गाउँ छिर्न थालेसँगै निर्वाचनको माहोल क्रमशः तातिँदै गएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा विशेषगरी पहिलोपटक मतदान गर्न लागेका युवा मतदातामा उल्लेख्य उत्साह देखिएको छ।

जेनजी आन्दोलनपछि नयाँ जनप्रतिनिधिले युवाको भावना र देशको आवश्यकतालाई बुझेर काम गर्ने अपेक्षा बढेकाले युवामा मतदानप्रति रुचि थपिएको बताइन्छ। यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी १३ जनाले मनोनयन दर्ता गराएका थिए, जसमध्ये १२ जनाको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उम्मेदवार र दलका नेताहरू अहिले घरदैलो अभियान, भेटघाट र छलफलमा व्यस्त छन्।

बेनी नगरपालिका–२ का निकेश सापकोटा पहिलोपटक मतदान गर्न लागेका युवा हुन्। व्यक्तिगत छवि स्वच्छ भएका, विकासको स्पष्ट योजना बोकेका र युवाको भावना बुझ्ने इमानदार नेतृत्व चयन गर्न मतदान गर्न आफू उत्साहित भएको उनले बताए। “देश र जनताको भावनालाई बुझेर काम गर्न सक्ने योग्य उम्मेदवारलाई मत दिनेछु,” उनले भने।

त्यस्तै, बेनी नगरपालिका–७ की २१ वर्षीया सङ्गीता विक पनि पहिलोपटक मतदान गर्दैछिन्। सबै उम्मेदवारका एजेन्डा सुनेर र बुझेर मात्रै मत दिने निर्णयमा पुगेको उनको भनाइ छ। “असक्षम नेतृत्वको असर जनतामाथि पर्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले सक्षम नेतृत्व चयन गर्न सचेत भएर मतदान गर्नुपर्छ,” उनले भनिन्।

मङ्गला गाउँपालिका–४ का दीपेश बुढा पनि यस निर्वाचनमा पहिलोपटक मत प्रयोग गर्दैछन्। नयाँ दल र नयाँ अनुहारहरू मैदानमा देखिएकाले पार्टीभन्दा व्यक्तिको क्षमता हेरेर मतदान गर्ने सोच बनाएको उनको भनाइ छ। “युवाको आन्दोलनपछि अब देशमा केही सकारात्मक परिवर्तन हुन्छ कि भन्ने आशाले मतदानमा सहभागी हुँदैछु,” बुढाले भने।

रघुगङ्गा गाउँपालिका निवासी सङ्गम पुन पनि पहिलोपटक मतदान गर्दैछन्। उनले उम्मेदवारबारे जानकारी लिँदै आफ्नो मतको सही प्रयोग गर्ने तयारी गरेको बताए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार फागुन २१ गते हुने निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेका छन्। जसमध्ये महिला ४४ हजार ६४, पुरुष ४२ हजार ३३२ र अन्य एक जना मतदाता छन्। जिल्लाभर ८२ मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ।

अधिकांश मतदाता युवा रहेको र कतिपयले उमेर पुगेपछि यसपटक पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार शनिबारसम्म ६६ वटा मतदानस्थलको अनुगमन सम्पन्न भइसकेको छ र निर्वाचनको सम्पूर्ण तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय