spot_img

मोरङमा निर्वाचनको सरगर्मी बढ्दो, चिया पसलदेखि सार्वजनिक यातायातसम्म चुनावी बहस

spot_img
spot_img

मोरङ,१५ माघ  । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङका गाउँ–सहरमा चुनावी माहोल तातेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लिएर मतदातामा उत्साह देखिन थालेको छ भने स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्म चुनावी बहस चल्न थालेका छन्।

मोरङमा प्रतिनिधिसभाका छ वटा निर्वाचन क्षेत्र रहेका छन्, जहाँ १ सय १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नं. १ मा १८, क्षेत्र नं. २ मा १७, क्षेत्र नं. ३ मा २१, क्षेत्र नं. ४ मा २१, क्षेत्र नं. ५ मा २२ र क्षेत्र नं. ६ मा २० जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दर्तासँगै जिल्लाका सबै निर्वाचन क्षेत्रमा चुनावी चहलपहल तीव्र बनेको हो।

औपचारिक प्रचारप्रसार सुरु हुनुअघि नै उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले मतदातासँग भेटघाट बढाइरहेका छन् भने श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर पनि घरदैलो अभियानमा सक्रिय देखिन्छन्।

नेपाली कांग्रेस मोरङ–३ का क्षेत्रीय सचिव राजेन्द्रबहादुर अधिकारीका अनुसार बिहानैदेखि उम्मेदवारहरू मतदाताको घर आँगनमा पुग्न थालेपछि स्थानीयस्तरमा चुनावी सरगर्मी बढेको छ। “नयाँ मतदातालाई लक्षित गरेर शिक्षा, स्वास्थ्य, रोजगारी र प्रविधिमैत्री एजेन्डासहित चुनावी रणनीति अघि बढाएका छौँ,” उनले बताए।

यता, मतदाताहरू पनि यसपटक सचेत भएर मतदान गर्ने तयारीमा छन्। मोरङ क्षेत्र नं. २ अमरदहका विदुर आचार्यले पार्टीभन्दा पनि योग्य उम्मेदवार रोज्ने सोच बनाएको बताए। “जनताको भावना बुझ्ने नेता नै मतदाताको रोजाइमा पर्नेछ,” उनको भनाइ छ।

मोरङ क्षेत्र नं. ४ कसेनीका अमिन चौधरीले समय परिवर्तन भएको भन्दै सोचविचार गरेर मतदान गर्ने आवश्यकता औँल्याए। “भोट हालिसकेर पछुताउनु भन्दा त्यसअघि नै सचेत निर्णय गर्नुपर्छ,” उनले भने।

मोरङ क्षेत्र नं. १ केराबारीमा भेटिएका ज्येष्ठ नागरिक शंकर पोख्रेल पनि चुनावी बहसमा सक्रिय देखिए। “विकासप्रेमी उम्मेदवारलाई मत हाल्नुपर्छ, चुनाव जितेर गाउँ बिर्सनेलाई होइन,” उनले भने।

निर्वाचन आयोगका अनुसार यस पटक मोरङमा कुल मतदाता संख्या सात लाख ८३ हजार ५० पुगेको छ। अघिल्लो निर्वाचनको तुलनामा यहाँ ४७ हजार ५२५ मतदाता थपिएका हुन्। तीमध्ये पुरुष मतदाता तीन लाख ९९ हजार ६८६ र महिला तीन लाख ८३ हजार ३५७ रहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय