काठमाडौँ,१५ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशका सबै क्षेत्र अँध्यारोले ढाकिएको बताएका छन् र यसलाई हटाउन पार्टीलाई जिताउनुपर्ने बताए। बिहीबार काठमाडौंमा आयोजित घरदैलो कार्यक्रमका क्रममा उनले जनतालाई सम्बोधन गर्दै देशभर उज्यालो फैलाउने आफ्नो अभियानको घोषणा गरे।
कुलमानले भने, “अहिले बत्ती गएपछि सम्झिने नाम कुलमान भएको छ। सबै ठाउँमा अँध्यारो छ। अब सबै क्षेत्र उज्यालो बनाउन उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्छ भन्ने हाम्रो भनाई हो।”
कार्यक्रममा उनले घर–घरमा पुगेर जनताको प्रतिक्रिया बुझ्दा अत्यधिक सकारात्मक प्रतिक्रिया आएको बताए। “आज हामी हेरिटेज वाकको क्रममा जनतासँग भेट्यौँ। उनीहरूले उज्यालो नेपाल पार्टीलाई धेरै मतले जिताउने विश्वास व्यक्त गरेका छन्,” उनले भने।
साथै, कुलमानले देशको नेतृत्व योग्य व्यक्तिहरूले गर्दा मात्रै देश उज्यालो हुने र आफू त्यस नेतृत्वका लागि तयार रहेको पनि बताए। उनले जनताको समर्थनमा पूर्ण ढुक्क रहेको बताए।




