काठमाडौं,१५ माघ । अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल (युवराज सफल) हाजिर जमानीमा रिहा भएका छन्। साइबर अपराधसम्बन्धी मुद्दामा मंगलबार पक्राउ परेका उनले सरकारी वकिल कार्यालयको हाजिरी जमानीमा बुधबार नै छुटेका हुन्।
महान्यायाधिवक्ताको कार्यालयले उनलाई विद्युतीय कारोबार ऐनसम्बन्धी मुद्दामा पक्राउ गरेको थियो। आरोपमा नकारात्मक सूचना फैलाउने, अपशब्द प्रयोग गर्ने, गालीगलौज गर्ने र रकम लेनदेनसम्बन्धी विवादमा मुद्दा फिर्ता लिने जस्ता गतिविधि उल्लेख गरिएको थियो।
रिहा भएपछि बिहीबार बिहान २:२४ बजे युवराजले फेसबुकमा लेखेका छन्, “म युवराज सफल हिजो विद्युतीय कारोबार ऐन सम्बन्धी मुद्दामा पक्राउ परेको थिएँ, आज रिहा भएको छु। बाघलाई धेरै दिन खोरमा थुन्न सकिन्न, अन्ततः बाघ खोर मुक्त भएको छ। म रिहा भएको छु।”
उनको रिहाईसँगै सामाजिक सञ्जालमा पनि प्रतिक्रिया आएको छ, र समर्थकहरूले यसलाई कानुनी प्रक्रियाको सफल नमुना भएको टिप्पणी गरेका छन्।




