जनकपुर,१५ माघ । ७८ वर्षकी कपलेश्वरी यादवले बुधबार सिरहाको जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि आफ्नै आँखा रसाए। बुढेसकालमा राज्यको नागरिक हुने उनको लामो संघर्ष आठ वर्ष लामो थियो।
कपलेश्वरीको जीवन संघर्षले स्थानीय वासिन्दा र प्रशासनकै निरन्तर चुनौतीहरू झेल्नुपरेको छ। २०२३ सालमा जन्मिएकी उनले २०३१ सालमा श्रीमान्को निधनपछि सहारा नपाई बुढेसकाल विताइन्। आफ्ना नातेदार र माइतीतर्फका सबै नागरिकता पाएको भए पनि उनी अनागरिक रहेकी थिइन्। अदालतको माध्यमबाट जग्गाको हक पाएकी उनी नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता लिन, आफ्नो जग्गा बिक्री गर्न वा नामसारी गर्नसमेत असमर्थ थिइन्।
आठ वर्षसम्म वडा कार्यालय र जिल्ला प्रशासनको ढोका धाउँदा, बारम्बार अस्वीकार र झूटा आरोपको सामना गरेपछि अन्ततः राज्यको नागरिक बन्न पाएको कपलेश्वरीले भावुक हुँदै भनिन्, “छोराछोरी छैनन्, सहारा दिने कोही थिएन। अब सरकारले दिने वृद्ध भत्ताले थोरै भए पनि ओखतीमुलो र खाने खर्च पुग्छ। कम्तीमा अब आफ्नै देशको नागरिक भएर ढुक्कले मर्न पाउने भएँ।”
उनका नाति रामपरीक्षण यादवले पनि हर्ष व्यक्त गर्दै भने, “हजुरआमाले यो उमेरमा आएर न्याय पाउनुभयो, यसैमा म धेरै खुसी छु। नागरिकता नहुँदा उनले आफ्नो जग्गा उपभोग गर्न पाएकी थिइनन् र वृद्ध भत्ताबाट वञ्चित थिइन्।”
यो नागरिकताले केवल आर्थिक राहत मात्र होइन, सम्मान र पहिचान पनि दिएको छ। रामपरीक्षणले राज्यसंयन्त्रसँग प्रश्न उठाउँदै भने, “हजुरआमा जस्ता धेरै वृद्धवृद्धा अझै प्रशासनिक झमेलामा अल्झिरहेका छन्। सबै प्रमाण र अदालतको फैसला हुँदाहुँदै पनि नागरिकले आफ्नो परिचय पाउन किन आठ वर्ष कुर्नुपर्छ?”
कपलेश्वरीको कथा वृद्धवृद्धाको अधिकार र प्रशासनिक प्रक्रियामा सुधारको आवश्यकतालाई उजागर गर्ने उदाहरण बनेको छ।




