spot_img

५२ लाखको EV ‘धोका’? महिन्द्रा XUV400 मा एक वर्ष नपुग्दै दर्जनौँ खराबी, उपभोक्ता न्याय खोज्दै

spot_img
spot_img

रौतहट । नेपालमा विद्युतीय सवारी (EV) को नाममा उपभोक्तालाई सपना देखाएर महँगा गाडी बेच्ने र पछि जिम्मेवारीबाट पन्छिने प्रवृत्ति गम्भीर रूपमा सतहमा आउन थालेको छ । नाम चलेको ब्रान्ड महिन्द्राको XUV400 विद्युतीय गाडीमा एक वर्ष नपुग्दै दर्जनौँ गम्भीर प्राविधिक समस्या देखिएपछि उपभोक्ता खुलेआम न्यायको खोजीमा उत्रिन बाध्य भएका छन् ।

रौतहटको गरुडा–६ स्थित माँ सरस्वती जनरल सप्लायर्सका सञ्चालक धर्मनाथ प्रसाद जयसवालले ५२ लाख रुपैयाँ खर्चेर खरिद गरेको महिन्द्रा XUV400 EV अहिले एक महिनादेखि वीरगञ्जस्थित आधिकारिक शोरूममै थन्किएको छ । गाडी बिग्रियो, तर कम्पनी सुध्रिएन — यही पीडितको कटु यथार्थ हो ।

कम्पनीले बिक्रीका बेला “एक पटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज” दिने खुलेआम दाबी गरे पनि वास्तविक प्रयोगमा गाडीले २४०–२५० किलोमिटर मात्र दूरी तय गर्ने गरेको जयसवालको आरोप छ । यसरी झुटो दाबीका भरमा लाखौँ रुपैयाँ असुलिएको स्पष्ट देखिँदा पनि कम्पनी मौन बसेको छ ।

महिन्द्राकै आधिकारिक डायग्नोस्टिक सिस्टम (MIDA) ले गाडीको ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS), भेइकल कन्ट्रोल युनिट (VCU), मोटर कन्ट्रोल युनिट (MCU) र इन्टेलिजेन्ट पावर डिस्ट्रीब्युसन युनिट (IPDU) जस्ता मुख्य प्रणालीहरूमा “NO RESPONSE / DTC FOUND”देखाएको छ । अर्थात् गाडीको ‘मुटु’ नै असफल भएको प्राविधिक प्रतिवेदन आफैँ कम्पनीसँग छ — तर समाधान शून्य ।

एक महिनासम्म गाडी ग्यारेजमै थन्किँदा पनि नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड नेपालले न गाडी साटफेरको प्रस्ताव गरेको छ, न त क्षतिपूर्तिको । वारेन्टी र बिक्रीपछिको सेवाको नाममा उपभोक्तामाथि खुला अन्याय भइरहेको पीडितको आरोप छ ।

नेपालको उपभोक्ता संरक्षण ऐनले वस्तुमा त्रुटि देखिएमा विक्रेताले साटफेर वा क्षतिपूर्ति दिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर यहाँ ऐन कागजमै सीमित देखिएको छ । जयसवालले गाडी पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने वा उचित क्षतिपूर्तिसहित रकम फिर्ता गर्नुपर्ने कानुनी माग अघि सारेका छन् ।

“लाखौँ रुपैयाँ खर्चेर किनेको गाडी एक महिनादेखि ग्यारेजमा छ । न बनाइदिन्छन्, न जवाफ दिन्छन् । मानसिक र आर्थिक रूपमा म पूर्ण रूपमा थिचिएको छु,” पीडित जयसवालको आक्रोश छ ।

कम्पनीको निरन्तर बेवास्तापछि आफू उपभोक्ता संरक्षण विभाग, कानुनी प्रक्रिया र मिडियामार्फत न्याय खोज्न बाध्य भएको उनले बताए । तर यति गम्भीर आरोप लाग्दा पनि अग्नि इन्कर्पोरेटेड नेपालले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

‘प्रिमियम EV’ भन्दै बिक्री गरिएको XUV400 मा देखिएको यो काण्डले विद्युतीय सवारीप्रति आम उपभोक्ताको विश्वासमै गम्भीर प्रश्न खडा गरेको छ । ग्राहकको समस्या सुन्न नसक्ने र जिम्मेवारी लिन नचाहने प्रवृत्ति कायम रहे EV प्रवर्द्धन केवल नारामै सीमित हुने सरोकारवालाहरूको चेतावनी छ ।

यस प्रकरणले नयाँ विद्युतीय गाडी किन्न सोचिरहेका उपभोक्तालाई झस्काएको छ — महँगो EV किन्ने कि नकिन्ने? भरोसा गर्ने कि सचेत हुने?प्रश्न अझै अनुत्तरित छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय